सभापति देउवाले भने: सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ - Chaitanya News
  • 2026-11-16
  • 05:03:18
  • आइतबार,कार्तिक ३०, २०८३
  • सभापति देउवाले भने: सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ

    सभापति देउवाले भने: सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ

    काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन्। आज (सोमबार) नेपाली काँग्रेस तनहुँले आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले गणतन्त्रको विकल्प नभएको समेत बताए।

    सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औँल्याए। पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि उनको भनाइ छ।

    ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ। तब मात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ,’उनले भने। अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको उनको भनाइ छ।

    ‘संविधान समावेशी छ। संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन। गठबन्धन गरेर जाँदा काँग्रेस ठूलो शक्तिका रूपमा निर्माण गर्न सकिन्छ,’ देउवाले भने।

    कार्यक्रममा काँग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले सहमति, सहकार्य र समझदारी अहिलेको आवश्यकता रहेको औँल्याए। देशको प्रमुख समस्या अशिक्षा, गरिबी र भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि काँग्रेस, एमाले र माओवादी मिल्नुपर्नेमा उनले जोड दिए।