धनगढी- कैलालीको धनगढीस्थित चैतन्य पाठशालाले तेक्वान्दो खेलाडी दीपक विष्टलाई बोलाएर विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
विभिन्न क्षेत्रमा चैतन्य संवाद गर्दै आएको एकेडेमीले बिहीबार विष्टलाई बोलाएर तेक्वान्दो खेलका विषयमा अन्तरक्रिया गरेको हो।
संवादका क्रममा विष्टले आफूले प्रत्येक विद्यार्थीमा सम्भावना देख्ने गरेको बताएका थिए। ‘म पनि सामान्य परिवारको मान्छे हुँ। दु:ख र संघर्ष गर्दै राष्ट्रिय स्तरको खेलाडी बन्न सफल भए। म प्रत्येक विद्यार्थीमा सम्भावना देख्छु। आफूमा केही गर्ने ईच्छा शक्ति भयो र त्यसलाई पुरा गर्न लागि पर्यौं भने हामीले अवस्य सफलता हात पार्छौं,’ उनले भने।
विद्यार्थीमा बहुआयामीक क्षेत्रका बारेमा ज्ञान प्रदान गर्न एकेडेमीले यस्ता खालका अतिरिक्त क्रियाकलाप गरेको पाउँदा खुसी लागेको उनले बताए।
विद्यालयका सहायक प्राचार्य कटक सिंहले चैतन्य पाठशाला ताइकान्दो दोजाङ नै रहेको बताए। उनले तेक्वान्दोप्रति रुची भएका विद्यार्थीहरू उक्त क्रियाकलापमा सहभागी हुने गरेको जानकारी दिए।
पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्टलाई सम्मानसमेत गरिएको थियो।