महाधिवेशनपछि नागरिक उन्मुक्ति पार्टी देशकै साझा पार्टी बन्नेछ : रेशम चौधरी - Chaitanya News
  • 2026-11-16
  • 05:28:02
  • आइतबार,कार्तिक ३०, २०८३
  • महाधिवेशनपछि नागरिक उन्मुक्ति पार्टी देशकै साझा पार्टी बन्नेछ : रेशम चौधरी

    महाधिवेशनपछि नागरिक उन्मुक्ति पार्टी देशकै साझा पार्टी बन्नेछ : रेशम चौधरी

    काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले महाधिवेशन पछि पार्टी देशकै साझा पार्टी बन्ने दाबी गरेका छन्। प्रथम महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखिरहेका नेता चौधरीले यस्तो बताएका हुन् ।

    नेता चौधरी भन्छन्, ‘थरुहट आन्दोलनको जगबाट स्थापित भएको हाम्रो पार्टीलाई क्षेत्रीय पार्टीको रूपमा हेरिने गरिएको छ। तर, हाम्रो सोच, भिजन र एजेन्डा कुनै एउटा भूगोल या जातजातिको मात्रै नभई समग्र देश र देशवासीका तमाम पहिचानको रक्षा गर्दै देशको विकासमा योगदान पुर्‍याउनु हो। त्यसैले पार्टीको राजनीतिक प्रतिवेदनले हिमाल, पहाड र तराई सम्पूर्ण देशवासीको साझा पार्टीका रूपमा अघि बढ्न मार्ग निर्देश दिनेछ।

    नाउपाको प्रथम महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म उक्त पार्टीको आधार भूमि कैलालीको टीकापुरमा हुँदै छ। पार्टीले स्थापनाको छोटो समयमै राम्रो मत ल्याउन सफल भएको थियो।

    महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने पार्टीको तयारी छ। नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन्। महाधिवेशनमा ७७ वटै जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी गराउने पार्टीको तयारी छ।

    पार्टीको महाधिवेशन भव्य रूपमा सफल पार्नका निम्ति विभिन्न समिति तथा उपसमिति बनाएर काम तीव्र पारिएको छ। पार्टीले महाधिवेशनको आन्तरिक तथा व्यवस्थापकीय कामका साथै देशभरबाट प्रतिनिधि छनौट र अतिथिलाई निमन्त्रण दिने कामलाई तीव्रता दिएको छ।