काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई काठमाडौं क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको चुनाव प्रचार कार्यक्रममा सहभागी भएका छन्।
काठमाडौं महानगरपालिका वडा नं. ३१ को आलोकनगर क्षेत्रको कार्यक्रममा सहभागी भएका बाबुरामले प्रकाशमान योग्य र स्वच्छ छविको व्यक्ति भएकाले आफू उनका लागि भोट माग्न आएको बताए।
बाबुरामले भने, ‘उहाँ (प्रकाशमान सिंह) आफैं स्वच्छ छवीको व्यक्तित्व हुनुहुन्छ, त्यसैले उहाँले जित्नुपर्छ। त्यसो भएको हुनाले उहाँको पक्षमा मत माग्न आएको हुँ।’ प्रकाशमानसँग आफ्नो पहिलेदेखि नै पारिवारीक सम्बन्ध पनि रहेको बाबुरामले बताए।
पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको निर्वाचन विशिष्ट भएकाले आफूहरुले प्रतिगमनकारीविरुद्ध गठबन्धन गरेको बताए। ‘सामान्य अवस्थामा बहुदलीय लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ। अहिले हामीले निर्माण गरेको, संघर्ष गरेर ल्याएको जुन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान छ, त्यसमाथि नै प्रहार भएको हुनाले प्रतिगमनकारी शक्तिहरु विरुद्ध, हाम्रो अग्रगमन शक्तिहरुको गठबन्धन हो यो, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह योग्य व्यक्ति पनि हुनुहुन्छ,’ बाबुरामले भने।
उनले अहिलेको वाम–लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने र त्यसमै टेकेर सुशासन र समृद्धि आउने बताए।
प्रकाशमानको चुनाव प्रचार घरदैलो कार्यक्रममा सत्ता गठबन्धनको अर्को एक घटक नेकपा माओवादी केन्द्रका नेता अनिल शर्मा पनि सहभागी थिए।