माओवादी अहिले कमब्याकको चरणमा छ : वर्षमान पुन - Chaitanya News
  • 2026-05-28
  • 01:17:19
  • बुधबार,जेठ १३, २०८३
  • माओवादी अहिले कमब्याकको चरणमा छ : वर्षमान पुन

    माओवादी अहिले कमब्याकको चरणमा छ : वर्षमान पुन

    काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र अहिले कमब्याकको चरणमा रहेको बताएका छन्। आज (सोमबार) प्रेस सेन्टर नेपाल मकवानपुरले हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

    विभिन्न समयमा भएको टुटफूटबाट पार्टी जति झर्नुपर्ने थियो झरिसक्यो भन्दै उनले अब कमब्याको चरणमा रहेको बताए।

    उपमहासचिव पुनले २०६४ सालमा संविधान बनाउन नसकेर संसद् विगठन गर्नु नै पार्टी ओरालो लाग्नुको प्रमुख कारण भएको बताए।

    त्यसयता माओवादीमा आएको टुटफुट पनि ठूलो समस्या भएको भन्दै पुनले अब माओवादी कम ब्याकको चरणमा रहेको बताए। उनले भने ‘हामीले संविधान बनाउन सकेनौँ, सेट ब्याक भो, त्यसपछि टुटफुट भो , एक पटक झरेपछि कम ब्याक गर्न समय लाग्छ, तर हामी उठ्छौँ। माओवादी झर्नु जति झरिसक्यो।’

    एमाले पनि २०५१ मा फुटेपछि पहिलो पार्टी बन्न १९ वर्ष लागेको बताउँदै पुनले माओवादी पनि त्यही लाइनमा रहेको बताए।

    माओवादी नेतृत्वमा रहेको सरकारको काम कामकारबाही सन्तोषजनक नआएको रिपोर्ट कार्डहरू बाहिर आएको सन्दर्भमा उनले अब सरकारले स्पिड लिने विश्वास व्यक्त गरे।

    पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वभाविक रहेको बताउँदै आगामी चौमासिकमा सरकारको स्पिड बढ्ने उनको भनाइ थियो।

    सरकारले सुशासनको सन्दर्भमा गरेको राम्रो कामलाई असफल बनाउन घेराबन्दी भइरहेको भन्दै उनले राम्रो कामलाई सबै दलले सहयोग गर्नुपर्ने संस्कारको विकाश जरुरी रहेको बताए।

    सरकारले सोचेजस्तो खर्च गर्न नसकेको कुरा सही रहेको बताउँदै पुनले खर्च गर्ने प्रणालीको पुनर्निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे।