माल्दिभ्समा भवनमा आगलागी हुँदा १० जनाको मृत्यु - Chaitanya News
  • 2026-04-22
  • 06:07:59
  • बुधबार,बैशाख ०९, २०८३
  • माल्दिभ्समा भवनमा आगलागी हुँदा १० जनाको मृत्यु

    माल्दिभ्समा भवनमा आगलागी हुँदा १० जनाको मृत्यु

    काठमाडौं– माल्दिभ्सको राजधानी मालेमा रहेको एउटा भवनमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। उक्त भवनमा विदेशी कामदार बस्दै आएका थिए।

    भवनको भुईं तलामा रहेको कार मर्मत गर्ने ग्यारेजमा आगलागी भएको हो। उक्त घटनामा नौ भारतीयसहित एक बंगलादेशी नागरिकको मृत्यु भएको छ। यस घटनामा धेरै मानिस घाइते भएका छन्।

    भवनमा आगलागी भएपछि माथिल्लो तलाबाट १० जनाको शव निकालिएको अधिकारीहरूले बताएका छन्। भवनको भुइँ तल्लामा रहेको कार मर्मत गर्ने ग्यारेजमा आगलागी भएको हो।

    दमकलका एक अधिकारीले भने कि हामीले १० शव निकालेका छौं। आगो नियन्त्रणमा लिन करिब चार घण्टा लागेको थियो । मृत्यु हुनेमा नौ भारतीय र एक बंगलादेशी रहेको प्रहरीले जनाएको छ।

    मालेमा भएको आगलागीमा भारतीय नागरिकसहित १० जनाको मृत्यु भएको माल्दिभ्सस्थित भारतीय उच्चायोगले दुःख व्यक्त गरेको छ। उच्चायोगले माल्दिभ्स सरकारसँग सम्पर्कमा रहेको बताएको छ।

    माल्दिभ्सका एक उच्च सरकारी अधिकारीले प्रहरीले मृतकको पहिचान गर्ने प्रयास गरिरहेको बताए। माल्दिभ्सको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले ट्वीट गर्दै मालेमा भएको आगलागी पीडितका लागि स्टेडियममा राहत र उद्धार केन्द्र स्थापना गरिएको जनाएको छ। पीडितलाई सहयोग गर्न हरसम्भव प्रयास भइरहेको छ।

    यो घटनापछि माल्दिभ्समा खराब अवस्थामा बस्ने विदेशी कामदारको मुद्दा फेरि चर्चामा आएको छ। माल्दिभ्सका राजनीतिक दलहरूले विदेशी कामदारहरू यहाँ दयनीय अवस्थामा बस्न बाध्य भएको बताएका छन्।

    माल्दिभ्समा विदेशी कामदारको ठूलो जनसंख्या छ। अधिकांश कामदार भारत, बंगलादेश, नेपाल, पाकिस्तान र श्रीलंका जस्ता देशका छन्।

    यी विदेशी कामदारको दयनीय अवस्थाको मामला पहिलो पटक कोरोनाको समयमा बाहिर आएको थियो। त्यतिबेला विदेशी कामदारमा स्थानीयभन्दा तीन गुणा छिटो कोरोना फैलिएको थियो।