राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापनाको माग राख्नु असंवैधानिक होइन : राजेन्द्र लिङ्देन - Chaitanya News
  • 2026-11-16
  • 06:16:20
  • सोमबार,मंसिर ०१, २०८३
  • राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापनाको माग राख्नु असंवैधानिक होइन : राजेन्द्र लिङ्देन

    राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापनाको माग राख्नु असंवैधानिक होइन : राजेन्द्र लिङ्देन

    काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापनाको माग राख्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित गराउन सफल भएको बताएका छन्।

    आज (आइतबार) केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले नेपालमा राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दुराष्ट्र पुनर्स्थापना र सङ्घीयता खारेजीको माग राख्नु अवैधानिक होइन भन्ने कुरा आफ्नो पार्टीले स्थापित गराएको समेत बताए।

    निर्वाचन आयोगसँग प्रतिवाद गरेपछि पार्टीको विधानमा राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना मागलाई स्थापित गराउन सफलता हात पारेको उनको भनाइ थियो। राप्रपालाई नेपाली राजनीतिमा उपेक्षा गर्न नमिल्ने शक्तिको रूपमा स्थापित गराउने काम भएको उनले बताए।

    ‘गएका निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसके पनि उकालो यात्रा प्रारम्भ गर्‍यो। राप्रपालाई नेपाली राजनीतिमा उपेक्षा गर्न नसकिने र अग्रगतितर्फ गइराखेको शक्तिको रूपमा स्थापित गर्न सफल भयौँ,’ उनले भने।

    अध्यक्ष लिङ्देनले विगतमा निर्वाचनमा अपेक्षाअनुसार परिणाम हात नपारे पनि आफ्नो पार्टीले अग्रगमनको बाटो तय गर्दै अघि बढेको बताए।