काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले सत्ता साझेदार दलहरूकै कारण बागमती प्रदेश सभाका संसदीय समितिहरूको नेतृत्व चयनमा ढिलाइ भइरहेको बताएका छन।
उनले सत्ता साझेदार दलहरूले ठोस प्रस्ताव नल्याएकै कारण समितिका सभापति चयनमा ढिलाइ भएको बताएका हुन्। ‘सत्ता साझेदार दलबाट ठोस प्रस्ताव आएको छैन। उहाँहरूले प्रस्ताव ल्याएपछि मात्र ठिक छ, छैन भनेर कमेन्ट गर्ने हो। उपयुक्त प्रस्ताव आएमा मिलेर जान सकिन्छ,’ उनले भने, ‘प्रदेश नियमावलीमा सभामुखले सहमति गराएर सभापति चयन गर्ने उल्लेख छ। सभामुखलाई सभापति चयन गर्ने जिम्मा तपाईँको हो भनेर जानकारी गराई सकेका छौं।
प्रदेश सभामा रहेका पाँच वटा समितिमध्ये प्रतिपक्ष दलको हिसाबले एमालेले सार्वजनिक लेखा समितिमा दाबी गर्दै आएको छ। ठूलो दलको हिसाबले यसबाहेक अन्य समितिमा पनि एमालेको दाबी रहने पौडेलले बताए।
बागमती प्रदेश सभामा पाँच वटा संसदीय समिति छन्। प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति रहेका छन्। भदौ १९ मा पहिलो पटक संसदीय समितिको बैठक बसेको थियो। त्यति बेला समितिका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरेका थिए। त्यसयता ज्येष्ठ सदस्यले नै संसदीय समितिको नेतृत्व गरिरहेका छन्।