काठमाडौँ– नेपाली काँग्रेसले पार्टीको मुखपत्र नेपाल पुकार पुनः प्रकाशन सुरु गरेको छ। त्रैमासिक रूपमा प्रकाशित गर्ने गरी आइतबार नयाँ अङ्क सार्वजनिक गरिएको छ।
पार्टी मुख्यालय सानेपामा कार्यक्रम गरी नेपाल पुकार पुनः बजारमा ल्याइएको छ। नेपाली काँग्रेस स्थापनाअघि काँग्रेसका दुई धार नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसले ‘युगवाणी’ र ‘नेपाल पुकार’ छुट्टाछुट्टै प्रकाशित गर्दै आएका थिए।
दुई पार्टीको एकीकरण (२००६ सालमा) मा भएपछि एउटै पत्रिका पार्टीको मुखपत्र बनाउने गरी नेपाल पुकारको प्रकाशन गरिएको थियो।
युगवाणीको प्रकाशन भने पार्टी एकीकरणपछि रोकिय । साढे पाँच दशक भन्दा बढी मुखपत्रका रूपमा प्रकाशित नेपाल पुकारलाई काँग्रेसले २०५४ सालदेखि बन्द गरेको थियो।
‘अरु प्रतिस्पर्धी पत्रिका आएपछि आफूलाई अझै परिस्कृत गर्नुपर्नेमा पत्रिका नै बन्द गरिएको रहेछ’, प्रचार विभागका प्रमुख मीन विश्वकर्मा भन्छन्।
पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको अगुवाइमा नेपाल पुकार पुनः प्रकाशन थालिएको हो। पुनः प्रकाशित नेपाल पुकारको नयाँ अङ्कको सामग्रीमा गत २४ भदौदेखि ३ असोजसम्म काँग्रेसले गरेको बीपी साहित्य महोत्सवलाई प्राथमिकतामा राखिएको छ।
प्रचार विभागले निकालेको पत्रिकामा सम्पादक मण्डलमा गोपाल झा, इन्द्र रिजाल, लीला दाहाल, दीपेन्द्र वान्तवालगायत छन्।