काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले एनसेल सेयर स्वामित्व बिक्री नाटक मात्र भएको बताएका छन्।
आज (शुक्रबार) प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन। यस्तै उनले एनसेलको विषय गम्भीर र भयावह भएको समेत बताए।
‘यो बिक्री हो जस्तो लाग्दैन, बिक्रीको नाटक मात्र हो। पहिले नै श्रीमतीको नाममा २० प्रतिशत थियो, श्रीमानको नाममा अर्को कम्पनी खडा गरेर ८० प्रतिशत आयो यस्ता खालको काम भएका छन्, यो नाटक हो, यसमा अलि ध्यान दिनुपर्छ’ पाण्डेले भने।
गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सार्वजनिक जानकारी गराएको थियो।
एनसेलको बाँकी २० प्रतिशत शेयर आचार्यकी पत्नी भावना सिंह श्रेष्ठको नाममा छ । एनसेलको बिक्री मूल्य पनि आजियटाले किनेको मूल्य भन्दा ९६ प्रतिशत अर्थात् करिब ५ करोड अमेरिकी डलर मात्र रहेको सार्वजनिक गरिएको थियो । त्यसैले उक्त कारोबार अविश्वसनीय रहेको भन्दै प्रश्न उठिरहेको छ, सरकारले पनि छानबिनका लागि समिति गठन गरेको छ।