राष्ट्रबैंकका बोर्डलाई अर्थमन्त्रीले भने: सेयर तथा घरजग्गा कर्जालाई सहज बनाउनुस् - Chaitanya News
  • 2026-07-13
  • 05:45:33
  • सोमबार,आषाढ २९, २०८३
  • राष्ट्रबैंकका बोर्डलाई अर्थमन्त्रीले भने: सेयर तथा घरजग्गा कर्जालाई सहज बनाउनुस्

    राष्ट्रबैंकका बोर्डलाई अर्थमन्त्रीले भने: सेयर तथा घरजग्गा कर्जालाई सहज बनाउनुस्

    काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रबैंकका बोर्डलाई सेयर तथा घरजग्गा कर्जालाई सहज बनाउन निर्देशन दिएका छन। चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्री महतले राष्ट्रबैंकको सम्पूर्ण सञ्चालक समितिसँग बैठक गरेका हुन्। हिजो (विहीवार) साँझ उनले गभर्नर महाप्रसाद अधिकारीलगायत सम्पूर्ण सञ्चालक समितिलाई अर्थ मन्त्रालयमा बोलाएर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत अर्थतन्त्र चलायमान हुने व्यवस्थाहरु गर्न निर्देशन दिएका हुन्।

    ‘अहिले अर्थतन्त्र समस्यामा छ। मौद्रिक नीतिमार्फत त्यसमा सुधार गर्न सकिन्छ। त्यसो हुँदा ऋणको पुनर्संरचना तथा पुनर्तालिकीकरण, सेयर तथा घरजग्गाको ऋणलाई सहज हुने किसिमको व्यवस्था गर्न भनेको छु,’ अर्थमन्त्री डा. महतले भने।

    राष्ट्रबैंकको बोर्डमा मन्त्रालयको प्रतिनिधिका रुपमा अर्थसचिव हुने भए पनि मन्त्रालयबाट दिएको सन्देशबारे सबै बोर्ड सदस्यमा समान बुझाइ होस् भन्ने उद्देश्यले उनीहरु सबैलाई एकै ठाउँमा राखेर छलफल गरेको उनले बताए।

    अहिले सेयर धितो कर्जामा लगाइएको १५ तथा २० करोड रुपैयाँको सीमा हटाउन तथा जुनसुकै आकारको ऋणमा पनि १०० प्रतिशत मात्रै जोखिम भार राख्न अनुरोध गरेको उनले जानकारी दिए।

    त्यस्तै घरजग्गासम्बन्धी ऋणमा पनि जुनसुकै ऋणमा जोखिम भार शतप्रतिशत मात्रैकायम गराउन उनले निर्देशन दिएका छन्।

    अहिले उद्यम व्यवसायमा मागको कमीका कारण ऋणको सावाँ ब्याज भुक्तानीमा समस्या भएको निजी क्षेत्रको माग छ। ‘यसरी सावाँब्याज भुक्तानीमा समस्या भएका ऋणीहरुको ऋणको पुनःसंरचना गरिदिन पनि भनेको छु,’ उनले भने।

    अहिले मौद्रिक नीतिको समीक्षाका लागि राष्ट्रबैंकको सञ्चालक समितिको बैठक बसिसरहेको छ।