काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताएका छन्।
आज (बिहीबार) समृद्धिका लागि पदयात्राअन्तर्गत पर्वतमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै भने, ‘पहिचानको नाममा, पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अलमल्याउने, भ्रममा पार्ने, फाटो पार्ने, त्यस प्रकारका क्रियाकलाप हुँदैछन्। अहिले कोशी प्रदेशबाट, कोशी प्रदेशमा कोशी प्रदेश नाम राखियो, सबैको साझा नाम राखियो। एउटा पृष्ठभूमि विशेषको नाम राखिएन भनेर केही तत्त्वहरू, वितण्डा मच्चाउनलाई ठूलो तत्त्व चाहिँदैन, धेरै ठूलो शक्ति चाहिँदैन। विदेशबाट सञ्चालित, कसैको इसारामा नेपालमा एकता हुन नदिने, नेपालमा शान्ति हुन नदिने, नेपालमा लोकतन्त्र हुन नदिने, त्यसप्रति जनताको विश्वास हटाउने, अशान्ति मच्चाउने, शान्ति खलबल्याउने र देशलाई असहज स्थितिमा पारेर अरुकै स्वार्थ पूरा गर्ने प्रयासमा यस्ता तत्त्वहरू लागिरहेका छन्।
उनले थपे, ‘कसैको बिर्ता होइन कुनै भूभाग नेपालको। प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्ने खालका आतङ्ककारी कुराहरू हामीले धेरै देखेका छौँ। यस्तो फुर्ती नलगाए हुन्छ। हामीले सामना गर्न नपरोस्। म उहाँहरूलाई भन्न चाहन्छु, यो बुद्धि छिट्टै सच्याउनुस्। यो बुद्धि फेरिहाल होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्छ।’कहाँ जान पाउने? कहाँ जान नपाउने भन्ने सिकाउन आवश्यक नरहेको उनको जिकिर छ।