वर्तमान सरकार लाज पचाएर कुर्सीमा बसेको छ, न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 07:10:13
  • सोमबार,मंसिर ०१, २०८३
  • वर्तमान सरकार लाज पचाएर कुर्सीमा बसेको छ, न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ : अध्यक्ष ओली

    वर्तमान सरकार लाज पचाएर कुर्सीमा बसेको छ, न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ : अध्यक्ष ओली

    काठमाडौँ– एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्रघाती र बेइमान भएको बताएका छन्। ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा ८औँ दिन बागलुङ बजारमा आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सरकार र सरकारमा बसेका दलप्रति आक्रोश समेत पोखेका छन्।

    नेपालको चरम असफलतामा गैर जिम्मेवार सरकार र गठबन्धन भएको पनि ओलीको आरोप छ। ‘देशमा अराजकता बढाउने, गैर राजनीतिक कुसंस्कारलाई प्रश्रय दिने, जनतामा निराशा बढाउने यो सरकार लाज पचाएर कुर्सीमा बसेको छ,’ ओलीले भने, ‘यो सरकारले न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ।’यही सरकार रहिरहे देश बर्बाद हुनेसमेत ओलीको भनाइ छ।

    बुधबार बागलुङकै बुर्तिवाङमा आयोजित सभामा ‘राजनीतिबाट माथि उठेर विकासमा लाग्न’ कार्यकर्ता र अन्य राजनीतिक शक्तिलाई आह्वान गरेका ओली भोलिपल्टै सत्ता गठबन्धनप्रति आक्रामक देखिएका हुन्। ‘जहाँ–जहाँ सडक बनेका छैनन् त्यहाँ काँग्रेसले ठेक्का लिएको छ’ ओलीले भने, ‘सरकार त विकास गर्न नसक्ने लुते नै भयो।’ पोखरा विमानस्थल आफूले बनाएर छाडेको उल्लेख गर्दै उनले छिमेकीसँग डराएकाले सरकारले सञ्चालन गर्न नसकेको उनले बताए। ‘यो सरकार कम्फरटेबलवाला हो, त्यसैले ऊ रिसाउँछ कि भनेर जहाज ल्याउन दिएको छैन,’ ओलीले भने, ‘न कुर्सी छाड्छ, न काम गर्छ, यस्तो देख्दा एमालेको मन पोलेको छ। ओलीले मिसन–०८४ मार्फत एमालेले एकल सरकार बनाएर जनताका सपना पूरा गर्ने दाबी गरे।

    फरक प्रसङ्गमा अध्यक्ष ओलीले बैंकहरूले ब्याज बढाएर आम नेपालीलाई सास्ती दिएको उनको टिप्पणी थियो। उनले ऋणी र बचतकर्ता नभएसम्म बैंक बन्द हुने कुरा हेक्का राख्न सञ्चालकलाई चेतावनी दिए।