काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताएका छन्।
आज (बुधबार)पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राको क्रममा रुकुमपूर्वमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
यस्तै उनले राष्ट्रिय हितको रक्षा, स्वाधीनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी मुलुकहरुसँग कुरै गर्न नसक्ने बताए।उनले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबी समेत गरे।
अपराधीहरुलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि माफी दिने काम सरकारले गरिरहेको अध्यक्ष ओलीको भनाई थियो।
अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो, असहज र बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै त्यसमा सुधार गरेर लैजाने काम एमालेले मात्रै गर्नसक्ने बताए।