सिड्नी– टी–२० विश्वकप २०२२ को पहिलो सेमीफाइनलमा आज बुधवार पाकिस्तान तथा न्यूजील्याण्डबीच भिडन्त हुँदैछ। सिड्नीमा आज दिउँसो १ः४५ बजेदेखि प्रारम्भ हुने यो खेलमा अधिकांश क्रिकेटप्रेमीको नजर हुनेछ।
एकातिर पाकिस्तान छ, जुन टीम ठूलै संघर्षपछि सेमीफाइनलसम्म पुगेको हो। अर्कोतिर न्यूजील्याण्ड छ, जसले जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ।
यद्यपि, दुबै टिम आजको सेमीफाइनल जितेर फाइनलमा स्थान सुरक्षित गर्नका लागि मैदानमा उत्रिने छन्।
जारी टी–२० विश्वकपमा यदि फर्मको कुरा गर्ने हो भने न्यूजील्याण्डले उत्कृष्ट सुरुवात गरेको थियो, तर सुपर १२ अन्त्यमा पाकिस्तानले उत्कृष्ट खेल्यो। पाकिस्तानले यो विश्वकपमा पाँच खेल खेलेको छ, जसमा दुईमा हार तथा तीनमा जीत हासिल गरेको छ। पाकिस्तानले आफ्ना पछिल्ला तीन खेलमा नीदरल्याण्ड्, दक्षिण अफ्रीका तथा बंगलादेशलाई हराएको छ।
अर्कोतिर न्यूजील्याण्डले यो विश्वकपका तीन खेल जितेको छ, एउटा पराजित भएको छ भने एउटा खेलको नतिजा निस्किन सकेकोे थिएन। न्यूजील्याण्डले पछिल्ला तीन खेलमध्ये दुईमा जीत हासिल गरेको छ भने एउटामा पराजित भएको छ। न्यूजील्याण्डले श्रीलंकालाई ६५ रन तथा आयरल्याण्डलाई ३५ रनले हराएको थियो भने इङ्ल्याण्डसंग २० रनले हारेको थियो।
विश्वकपबाहेक यी दुई टीमका पछिल्ला पाँच टी–२० खेललाई नियाल्ने हो चार वटामा पाकिस्तान विजयी भएको छ भने न्यूजील्याण्डले एउटामात्र खेल जितेको छ।
पाकिस्तानका पक्षमा अर्को एउटा रेकर्ड छ, दुबै टीमले आईसीसी इभेन्टका सेमीफाइनल प्रतिस्पर्धामा तीन पटक भिडेका छन्, तीनै पटक पाकिस्तानले खेल जितेको छ। १९९२, १९९९ तथा २००७ का सेमीफाइनल खेल पाकिस्तानले जितेको थियो।
दुबै टीमको शसक्त र कमजोर पक्षको चर्चा गर्ने हो भने पाकिस्तानको सबैभन्दा ठूलो शक्ति बाबर आजम तथा मोहम्मद रिजवानको ओपनिङ जोडी थियो, तर जारी विश्वकपमा यी दुबैले उत्कृष्ट प्रदर्शन गर्न सकिरहेका छैनन्। बाबर आजमले त रन बनाउनै सकेका छैनन् भने मोहम्मद रिजवानको गति सुस्त छ। यद्यपि, आजको पहिलो सेमीफाइनलमा यी दुबैको ब्याट चल्यो भने न्यूजील्याण्डलाई खेल जित्न गाह्रो पर्नेछ। उनीहरुबाहेक हरिश रउफ, शादाब खान तथा इफ्तिखार अहमद जस्ता पाकिस्तानका खेलाडीहरु लयमा छन्।
अर्कोतिर, न्यूजील्याण्डका सबैभन्दा शसक्त पक्ष नै कप्तान केन विलियमसन हुन्। तर, उनी पनि यो विश्वकपमा खासै चलेका छैनन्। अहिलेसम्म केनले यो विश्वकपमा १३२ रन बनाएका छन्। यद्यपि, न्यूजील्याण्डका ग्लेन फिलिप्सले चार खेलमा १९२ रन बनाएका छन्, जसमा एउटा शतक पनि समावेश छ। यी दुई खेलाडीबाहेक टे«न्ट बोल्ट तथा टीम साउदी जस्ता खेलाडीले पनि न्यूजील्याण्डलाई ठूलो योगदान दिन सक्नेछन्।