काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको रूपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको दाबी गरेकी छन्।
नेकपा माओवादी केन्द्र प्युठानको सरुमारानी गाउँपालिका(मा आयोजित विशेष रूपान्तरण अभियानअन्तर्गत आयोजित सभामा बोल्दै उनले यस्तो दाबी गरेकी हुन्। यस्तै उनले देशको समृद्धि र जनताको जीवन परिवर्तन गर्ने महान् अभियानबाट आएको पार्टी भएकाले माओवादी नेतृत्वबाटै देशको रूपान्तरण सम्भव हुने दाबी गरिन्।
देशको विकास निर्माण र समृद्धिका लागि माओवादी पार्टी जति अरु कसैले गर्न नसक्ने उल्लेख गर्दै उनले माओवादीले जितेका सबै तहका सरकारले नमुना काम गरिरहेको बताइन्।
माओवादी नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मार्गदर्शनको रूपमा लिएको उल्लेख गर्दै मन्त्री शर्माले त्यसको प्रतिफल प्राप्त हुन थालेको बताइन्।
विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्नु, मल आपूर्ति सहज बन्दै जानु, सेवा प्रवाहका कार्यालयहरूमा लाइनमुक्त बन्दै जानुले सेवा प्रवाहको क्षेत्रमा आशा जगाएको उनको भनाइ थियो।
मन्त्री शर्माले नक्कली भुटानी शरणार्थी, सुनकाण्ड जस्ता ठूला भ्रष्टाचारका घटनामा सरकारले लिएको अडानले सुशासनको क्षेत्रमा नयाँ सन्देश दिएको बताइन्। नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्यसमेत रहेका मन्त्री शर्माले काम गर्ने क्रममा भएका कमीकमजोरीप्रति माफी मागेर अघि बढ्न नेता कार्यकर्ताहरूलाई आग्रह गरिन्।
उनले सबै छरिएका माओवादी एक भएर जनतालाई गोलबन्द गर्नुपर्ने अहिलेको आवश्यकता भएको जनाइन्। २०६४ सालमा माओवादीलाई पहिलो शक्ति बनाए पनि त्यसपछि जनताले माओवादीको फुट र विभाजन मन नपराएको उल्लेख गर्दै उनले परिवर्तनकारी शक्तिबीचको एकता अनिवार्य भएको बताइन्।
माओवादीसित जनता एजेन्डाका कारण नभई माओवादीकै नेता कार्यकर्ताको शैलीका कारण रिसाएको उनले स्पष्ट पारिन्।
‘राजनीतिलाई पेशा होइन, सेवाको रूपमा स्थापित गर्नुपर्छ। महिला, मधेशी, जनजाति, दलितलगायत पछाडि पारिएका समुदाय माओवादीको एजेन्डाकै कारण शासन सञ्चालन गर्ने हैसियतमा पुगेका हुन्’, मन्त्री शर्माले भनिन्, ‘यसलाई पार्टीको मात्रै होइन, देशकै पूँजीको रूपमा लिनुपर्छ। जनताले अघि सारेका जायज माग पूरा गर्न इमानदारीपूर्वक लाग्नुपर्छ। पूरा गर्न नसके त्यसको कारण पनि जनतासमक्ष इमानदारीपूर्वक राख्नुपर्छ।
सभाकै क्रममा उनले एमाले सरुमारानी गाउँ कमिटी सदस्य चिन्ताबहादुर लोहारसहित विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउँदै सदस्यता प्रदान गरेकी थिइन्।