काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जनताले माओवादी घटक एक भएको हेर्न चाहेको बताएका छन्। आज (सोमबार)रुकुम पश्चिममा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए। यस्तै उनले उनले पूर्वमाओवादी घटकको एकताको कुरा भइरहेको समेत बताए।
उनले भने, ‘समाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ। नेपाल समाजवादी पार्टीसँग एकता गर्न त कार्यदल नै निर्माण भएको छ। माओवादी केन्द्रको नेतृत्वमा नै पार्टी एकता हुन्छ। कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता छ।
कम्युनिष्टमा वैचारिक कुरामा केही नमिले जस्तो देखिए पनि मिलाउन सकिने उनको बुझाइ छ। कम्युनिष्टमा अन्तरद्वन्द्व हुनु उपयुक्त नभएको बताउँदै उनले कुनै समयमा एक ठाउँमा आउनुको विकल्प नभएको बताए।
उनले ‘प्रचण्ड’ नेतृत्वको सरकार तीन वर्ष टिक्ने दाबीसमेत गरेका छन्।
उनले भने, ‘यो सरकार ढाल्नलाई धेरै प्रयास भइरहेका छन्। अहिलेको सरकार तीन वर्ष नै टिक्छ। सरकार ढाल्ने षड्यन्त्र कसैको सफल हुन सक्दैन।
‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको कामलाई जनताले रुचाएको उनको दाबी छ।