भैरहवाबाट नियमितरुपमा अन्तर्राष्ट्रिय उडान गर्नेलाई प्रतिउडान ५ लाख दिने तयारी छ : मन्त्री किराती - Chaitanya News
  • 2026-11-16
  • 08:08:36
  • सोमबार,मंसिर ०१, २०८३
  • भैरहवाबाट नियमितरुपमा अन्तर्राष्ट्रिय उडान गर्नेलाई प्रतिउडान ५ लाख दिने तयारी छ : मन्त्री किराती

    भैरहवाबाट नियमितरुपमा अन्तर्राष्ट्रिय उडान गर्नेलाई प्रतिउडान ५ लाख दिने तयारी छ : मन्त्री किराती

    बुटवल– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरांतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट नियमितरुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन रकम दिने तयारी भएको बताएका छन्। आज (आइतबार) सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीसँग भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी गृहकार्य भइरहेको समेत बताए।

    ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई इनामस्वरुप प्रत्येक उडानको ५ लाख रुपैयाँ दिने तयारी गर्दैछौं’, मन्त्री किरांतीको भनाइ उद्धृत गर्दै प्रतिनिधिमण्डलमा सहभागी पर्यटन व्यवसायी सञ्जीव जोशीले भने।

    नेपाल एशोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) को लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्न दबाब दिँदै काठमाडौं पुगेको छ।

    उक्त प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री किरांतीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन र जसरी पनि अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ भन्नेमा आफू पनि रहेको बताए।

    तर सरकारी ब्यवस्थापनमा समस्या भएमा निजी क्षेत्रसँग सहकार्य गरेर भएपनि उडान नियमित गर्ने उनले प्रतिवद्धता जनाएका नाट्टाका अन्तर्राष्ट्रिय हवाइ यातायात समन्वय समितिको संयोजकसमेत रहेका जोशीले बताए।

    राज्यको ४३ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको गौतमबुद्ध विमानस्थल र विमानस्थल देखेर ६५–७० अर्ब लगानी गरेको निजी क्षेत्रको बारेमा सरकार चिन्तित रहेको समेत मन्त्री किरांतीले व्यवसायीसंग बताएका थिए।

    मन्त्रीसँगको छलफलमा पर्यटन व्यवसायीले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको थालनी तत्काल गर्न माग गरेका थिए।

    नाट्टा लुम्बिनीको तर्फबाट ९ बुँदे ज्ञापनपत्र बुझाउँदै निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवाको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वयुसेवा निगमको जहाजले थालनी गर्नुपर्ने निजी क्षेत्रको माग रहेको बताए।