काठमाडौं– भारतमा विधानसभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय जनता पार्टी (भाजपा)ले अग्रता कायम राखेको छ।
मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा अगाडि छ। तेलंगनामा भने कांग्रेसले अग्रता लिएको छ।
सन् २०१८ को तुलनामा भारतीय कांग्रेस यसपालि धेरै स्थानमा पछि परेको छ। भाजपाको अवस्था भने सुधारिएको देखिएको छ। भारतीय मिडियाहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताका कारण भाजपाले धेरै सिट जित्ने अवस्था देखिएको विश्लेषण गरिरहेका छन्।
कुन प्रदेशको अवस्था कस्तो?
मध्यप्रदेशमा भाजपाले १३६ सिटमा अग्रता लिएको छ भने कांग्रेस ९३ सिटमा अगाडि छ। मध्यप्रदेशका कूल २३० सिटमध्ये बहुमतका लागि ११६ सिट जित्नुपर्छ।
मध्यप्रदेशमा सन् २०१८ को विधान सभा निर्वाचनमा कांग्रेसले ११४ सिट जित्दा भाजपाले जम्मा १०९ सिट जितेको थियो। अन्य दलले ७ सिट जितेका थिए। अहिले भने कांग्रेसभन्दा भाजपाको अवस्था राम्रो देखिएको छ।
राजस्थानमा पनि भाजपाकै अग्रता छ। राजस्थानका कुल १९९ सिटमध्ये भाजपा ११४ सिटमा अगाडि छ। कांग्रेसले ६७ सिटमा अग्रता लिएको छ। १७ सिटमा अन्य दल अगाडि छन्।
सन् २०१८ को निर्वाचनमा राजस्थानमा कांग्रेसले १०० सिट जित्दा भाजपाले जम्मा ७३ सिट जितेको थियो । २७ सिट अन्य दलले जितेका थिए।
यसैगरी छत्तीसगढका कूल ९० सिटमध्ये भाजपा ४९ सिटमा र कांग्रेस ३९ सिटमा अगाडि छन्। सन् २०१८ को निर्वाचनमा कांग्रेसले ६८ सिट र भाजपाले १५ सिट जितेका थिए।
तेलंगनामा भने कांग्रेस अरु सबै दलभन्दा अगाडि छ। कूल ११९ सिटमध्ये कांग्रेस ६६ सिटमा अगाडि छ। बीआरएस ३९ सिटमा, भाजपा १० सिटमा र अन्य दल ४ सिटमा अगाडि छन्।
तेलंगनामा सन् २०१८ मा बीआरएसले ८८ सिट जितेको थियो भने कांग्रेसले १९ र भाजपाले १ सिट मात्र जितेको थियो। पाँच वर्षको अन्तरालमा भएको निर्वाचनको प्रारम्भिक रुझान हेर्दा बीआरएसले गुमाएका सिटमा कांग्रेस र भाजपा दुवैको अवस्था सुधारिएको देखिएको छ।