काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित ‘रानी माया’ गीतको भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि प्रकृति, संस्कृति र साहसिक खेलहरूको विकास गर्न जरुरी रहेको पनि बताए। उनले नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर नेपालले पर्यटन क्षेत्रको विकास गर्न आवश्यक भएको बताए।
उनले मन्त्रालयले प्रकृति, संस्कृति र साहसिक खेलहरूलाई मध्यनजर गरेर पर्यटन विकासका लागि काम अघि बढाइरहेको बताए। उनले देशको पर्यटन विकासका लागि सिनेमा, गीतको भिडियोहरूमा नेपालमा नै रहेका मौलिकता झल्काउने ठाउँको प्रयोग गर्न आवश्यक रहेको बताए।
उनले भने– ‘हाम्रो देशको सभ्यता, संस्कृति जुन छ, त्यसको संरक्षण, संवर्द्धन गर्ने काम हामीले गर्नुपर्छ। हाम्रो पर्यटन क्षेत्रको प्रवर्द्धनको लागि नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर हामीले हाम्रो देशको पर्यटनलाई विकास गर्नुपर्छ। त्यही अनुसार मैले मन्त्रालयको कामहरू अघि बढाएको पनि छु। सांस्कृतिक, गीत, संगीत, सिनेमाहरूले पनि देशलाई चिनाउँछ। हामीले आफ्नै देशमा मौलिकताहरु झल्कने ठाउँको त्यसको उजागर गर्नुपर्छ।’
कार्यक्रममा महानायक राजेश हमालले रानी माया गीत हरेक दर्शकहरुको लागि मनोरञ्जन दिने सन्देशमुलक गीत रहेको बताए।
‘रानी माया’ बोलको गीत ढाका टोपी फिल्मसको प्रस्तुतिमा सार्वजनिक भएको हो। जिबी आग्रीको निर्देशनमा रहेको गीत श्रीकृष्ण बम मल्लको शब्द र कृष्ण विक संगीत छ। साथै गीतमा कृष्णलाई समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन्। ११ मिनेट लामो गीतमा गायक बिक र अनु आचार्यको अभिनय छ। गीतको छायांकन सञ्जय लामाले गरेका छन् भने कोरियोग्राफी कविराज गहतराजको छ।