शरीरमा आइरनको पूर्ति गर्न के गर्ने? - Chaitanya News
  • 2026-05-05
  • 05:09:47
  • सोमबार,बैशाख २१, २०८३
  • शरीरमा आइरनको पूर्ति गर्न के गर्ने?

    शरीरमा आइरनको पूर्ति गर्न के गर्ने?

    काठमाडौं– आइरन हाम्रो शरीरका लागि निकै जरुरी रसायनिक तत्व हो। शरीरमा पर्याप्त मात्रामा रक्त कोषिकाहरूको निर्माणमा यसले मद्दत पुर्‍याउँछ। यसले रगतमा होमोग्लोबिन भनिने प्रोटिन बनाउने काम पनि गर्छ। फोक्सोबाट अक्सिजनलाई रगतको माध्यमबाट शरीरका सबै अंगहरुमा पुर्‍याउने काम होमोग्लोबिनले गर्छ।

    पुरुषको तुलनामा महिलाहरूमा आइरनको कमी धेरै भेटिन्छ। शरीरमा आइरन अभाव भएपछि कयौँ खालका लक्षणहरू देखिन थाल्छन्। तर प्रायः मानिस यस्ता लक्षणलाई वेवास्ता गरिदिन्छन्। धेरै जसो महिलाहरुले गर्भावस्थामा आइरनको अभावको सामना गर्छन्। मासिकश्रावका कारण पनि महिलाका शरीरमा आइरनको स्तर कम हुन थाल्छ। यस्तोमा शरीरमा आइरनको पूर्ति कसरी गर्ने त?

    १९ देखि ५० वर्षका महिलाहरुले हरेक दिन १८ मिलीग्राम आइरन सेवन गर्नु पर्ने डाक्टहरू बताउँछन्। तर सोही उमेरका पुरुषहरूलाई ८ मिलिग्राम मात्रै आइरन भए पुग्छ। गर्भवति वा स्तनपान गराइरहेका महिला, किड्नीका बिरामी, अल्सर, ग्यास्ट्रोइन्टेस्टाइनल डिसअर्डर, वेट लस सर्जरी, धेरै व्यायाम गर्ने अनि शाकाहारीलाई पनि बढी मात्रामा आइरन सेवन गर्न भनेर सल्लाह दिने गरिएको छ।

    आइरन पाइने खानेकुराहरू पर्याप्त मात्रामा सेवन नगर्नु वा शरीरले आइरनलाई राम्रोसँग सोस्न नसक्नु आदिका कारण पनि शरीरमा आइरनको कमी हुन सक्छ। त्यसैले आइरन पर्याप्त पाइने खानेकुरा खानु डाक्टरहरु सुझाउँछन्। शरीरमा आइरनको कमी पूरा गर्न लिन सिमी, दाल, तोफु, पालुंगोको साग, ब्रोकाउली आदि खान उनीहरुको सुझाव छ।

    त्यस्तै भिटामिन सीयुक्त खानेकुरा पनि खानुपर्छ। तपाईंले आइरन पर्याप्त मात्रामा पाइने खानेकुराहरुको साथमा भिटामिन सीको पनि सेवन गर्दा शरीरलाई आइरनलाई शोस्न मद्दत मिल्छ।

    यो त भयो खान हुने कुराहरु। आइरनको अभाव भएका व्यक्तिहरुले चिया, कफी जस्ता पेय पदार्थ कम से कम सेवन गर्नुपर्छ। यिनीहरुले शरीरमा आइरनको अवशोषणलाई रोक्छ। तपाईले डाक्टरको सल्लाहमा आइरन सप्लिमेन्ट्सको सेवन गर्न पनि सक्नुहुन्छ।