काठमाण्डौ– गएको असोज अन्तिम हप्ताको लगातारको वर्षापछि आएको बाढी तथा पहिरोमा परि कर्णालीमा ४९ जनाले ज्यान गुमाएका छन्। २५ जना अझै बेपत्ता छन्।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले हिजो आइतवार सुर्खेतमा आयोजित ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा ज्यान गुमाउने र बेपत्ता भएकाहरुको जानकारी दिएका हुन। उनका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा धेरै हुम्ला र मुगुका रहेका छन्।
असोज अन्तिम हप्तामा भएको अविरल वर्षाबाट जुम्ला र मुगुमा दश–दश, कालीकोटमा नौ, हुम्लामा आठ, डोल्पामा दुई र दैलेखमा एक गरी ४१ जनाको ज्यान गएको छ। विपदमा परि कालीकोटमा मात्रै १८ जना बेपत्ता छन्। त्यस्तै, दैलेखमा तीन, जुम्ला, हुम्ला, डोल्पा र रुकुमपश्चिममा एकरएक गरी २५ जना नागरिक अझै बेपत्ता रहेका उनले बताए।
चालु आर्थिक वर्ष २०७९–०८० को साउन, भदौ र असोज महिनामा विपदबाट सुर्खेतमा कुनै मानवीय क्षति भएको छैन। यसबाट कर्णाली प्रदेशभर ७४ जना घाइतेका भएका छन्। मन्त्रालयको तथ्याङ्क अनुसार २० हजार ७ सय ९४ जना विस्थापित भएका छन्। त्यसमा ७ हजार ४ सय १८ कालीकोट र ५ हजार २ सय ८२ जना मुगुका रहेका छन्।
त्यस्तै, ३ हजार २ सय ८६ हुम्लामा, जुम्लामा १ हजार ९ सय ५२, दैलेखमा १ हजार ६ सय २०, सल्यानमा ६ सय ४ र सुर्खेतमा ५ सय ६६, डोल्पामा ३२, जाजरकोटमा र रुकुमपश्चिममा १७–१७ परिवार विस्थापित भएका रोकायले बताए। उनका अनुसार विपदबाट कर्णालीमा अहिलेसम्म २ हजार २ सय ५९ घरमा पूर्ण र २ हजार ६ सय ८४ घरमा आंशिक क्षति पुगेको छ।
कर्णालीमा सडक दुर्घटनाबाट ३३, चट्याङबाट एक र हिमपातबाट दुई जनाको ज्यान गएको बताइएको छ। विपद् पूर्वतयारी र प्रतिकार्य योजनाका कारण खोजी तथा उद्धारकार्यमा भने केही सहयोग पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए।
विपद्को समयमा १ सय २८ जना नागरिकको उद्धार गरिएको थियोु, सचिव भुसालले भन्नुभयो, खासमा पछि गएर राहत वितरण गर्नेभन्दा पूर्वतयारीकै काम गर्नु बुद्धिमानी रहेछ। विपद् कुनै पनि बेला हुनसक्ने बताउँदै उनले स्थानीय आपत्कालीन कार्यसञ्चालन समितिलाई बलियो र क्रियाशील बनाउनतर्फ सबै विकास साझेदार र सरोकारवालाले ध्यान दिनुपर्ने बताए।