काठमाडौं- जाजरकोट क्षेत्रमा भूकम्पबाट भएको जनधनको क्षतिमा राहत सहयोग जुटिरहेको छ। मित्र राष्ट्रहरू, राजनीतिक दल, व्यवसायी र संस्थाहरूबाट धमाधम आर्थिक सहयोगको घोषणा भइरहेको छ ।
हालसम्म १५ करोड ३९ लाख ११ हजार नगद सहयोगको घोषणा भएको छ। स्थानीय निकायहरू, प्रदेश सरकार र संघीय सरकारहरूले पनि अलग्गै आर्थिक सहयोगको घोषणा गरिरहेका छन्। चीन सरकारले १० करोड सहयोग दिने घोषणा गरेको छ।
भाटभटेनी सुपर मार्केटका संस्थापक मीनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार राहत सहायताका लागि आर्थिक सहायताको घोषणा गरिसकेका छन्।
त्यसै गरी, बुद्ध एयरले १ करोड, नेकपा एमालेले १ करोड, नेपाली कांग्रेसले ५० लाख, राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख, एनसेलले ५० लाख, अर्ना बियरले २५ लाख, एनआरएन शर्मा समूहले २१ लाख, एनआरएन केसी समूहले १० लाख, एनआरएन जापान शाखाले १५ लाख र नेपाल विद्यार्थी संघले ७ लाख नगद सहयोगको घोषणा गरिसकेका छन्।
विभिन्न संस्थाहरूले पनि राहत दिने घोषणा गरिरहेका छन्। भूकम्प प्रभावित क्षेत्रमा सहायता दिनेबारे अमेरिका, चीन, भारत, रुस लगायत विभिन्न राष्ट्रहरूले पनि सरकारलाई सन्देश पठाइसकेका छन्।