भिटामिन ‘डी’ कमि भए के हुन्छ? - Chaitanya News
  • 2026-05-05
  • 03:47:30
  • सोमबार,बैशाख २१, २०८३
  • खानामा हुने क्याल्सियम तथा फोस्फोरस आन्द्रामा शोषित हुने वा गराउने कार्यमा भिटामिन डीले ज्यादै ठूलो भूमिका निर्वाह गर्छ। हाम्रो शरीरलाई आवश्यक पर्नेमध्ये करीब ८० देखि ९० प्रतिशत भिटामिन डी हामीले सूर्यको किरणबाट प्राप्त गर्दछौं भने करीब १० देखि २० प्रतिशतमात्रै हामीले खाने खाना वा अन्य पौष्टिक तत्वबाट प्राप्त हुन्छन्। भिटामिन डी शरीरले शोषण गरेपछि एक प्रकारको हार्मोनमा परिणत हुन्छ। हाम्रो शरीरमा सक्रिय रूपमा रहने भिटामिन डीको स्वरूप अर्थात् हार्मोनलाई ‘क्याल्सिट्रिवल’ भनिन्छ।

    क्याल्सिट्रिवलले खानाबाट प्राप्त हुने क्याल्सियम र फोस्फोरसलाई आन्द्रामा शोषण गर्ने/गराउने र तिनलाई पुनः मिर्गौलामा ग्रहण गराई शरीरको रक्तसञ्चार प्रणालीमा प्रवाहित गराउन मद्दत गर्दछ।

    यदि हामीले थप भिटामिन डी वा भिटामिन डीयुक्त खाना खान्छौं भने पनि हाम्रो आन्द्राले त्यसलाई ग्रहण गरी कलेजो मै पठाउछ। कलेजोले उक्त भिटामिनलाई २५ (ओएच) डीमा परिणत गर्दछ।

    चिकित्सकले रगतमा भिटामिन डीको जाँच गर्न सल्लाह दिएमा जाँचिने तत्व नै २५ (ओ एच) डी हो।

    यही तत्वलाई रक्तसञ्चार माध्यमबाट मिर्गौलालगायत शरीरका सम्पूर्ण भागमा पु¥याउने काम हुन्छ। मिर्गौलाले उक्त तत्वलाई भिटामिन डीको सक्रिय रूपमा परिणत गर्छ र त्यही रूपको भिटामिन डीले हाम्रो शरीरमा आवश्यक क्रियाकलाप गर्ने गर्छ। शरीरमा भिटामिन डी कमी हुँदा ज्यादै थकाई लाग्ने, शरीर दुख्ने, कम्मर दुख्ने आदि हुन्छन्। तर कोहीकोहीमा भने कुनै पनि लक्षण नै नदेखिने पनि हुनसक्छ।
    भिटामिन कम भई जटिल अवस्थामा शरीरका हड्डी नै दुख्ने, ज्यादा कमजोर महसुस हुने र बिरामीलाई हिड्डुल गर्नसमेत अप्ठेरो पर्न सक्ने हुन्छ। कसै–कसैलाई चाहिँ शरीरमा बारम्बार किटाणुको संक्रमण भइरहने पनि हुन सक्छन्।

    भिटामिन डी चिल्लो पदार्थमा घुलनशील हुने हुँदा यो हाम्रो शरीरबाट सजिलै हटेर जाँदैन। त्यसकारण हाम्रो रगतमा भिटामिन डीको मात्रा बढी हुन्छ र त्यसले रगतमा क्याल्सियमको मात्रा पनि बढाउछ। रगतमा आवश्यकभन्दा बढी क्याल्सियम हुने अवस्थालाई ‘हाइपरक्याल्सिमिया’ भनिन्छ। यस्तो हुँदा निम्न लक्षण देखा पर्दछन् :

    – अत्याधिक थकाई लाग्ने
    – दिग्भ्रमित हुने वा अलमलमा पर्ने
    – बारम्बार पिसाब फेर्न मन लाग्ने
    – पेट दुख्ने।
    – मांशपेशी कमजोर भएको महसुस हुने।
    – दिसा गोटा पर्ने (कब्जियत हुने) वा पखाला लाग्ने।
    – तिर्खाएको महसुस हुने।
    – खाना अरूची हुने वा खाना खान मनै नलाग्ने।
    – हाइपर क्याल्सिमियाको जोखिम कम गर्न वा त्यसलाई नियन्त्रण गर्न बिरामीले चिकित्सकसँग परामर्श लिनुपर्छ। साथै थप भिटामिन डीको सेवन सुरु गर्दा वा पुनः सुचारू गर्दासमेत चिकित्सकको सल्लाह अनिवार्य हुन्छ।