काठमाडौं– चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले रू १ करोड ५१ लाखभन्दा बढी खुद नाफा गरेको छ। गत वर्ष यस अवधिसम्म रू. २ करोड ७३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएकाले सञ्चालन नाफा घट्द गई खुद नाफामा असर परेको हो।
साथै यो वर्ष कम्पनीको खराब कर्जा संकलन नहुदाँ पनि खुद नाफा घट्द पुगेको हो। गत वर्ष सम्भावित जोखिम शिर्षकमा रकम नछुट्याएको कम्पनीले यस वर्ष रू. २८ लाखभन्दा बढी रकम छुट्याएको छ। त्यस्तै गत वर्ष रू. १ करोड ७७ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष खराब कर्जा संकलन गर्न सकेको छैन्।
गत वैशाखमा सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीको चुक्तापूँजी रू. १२ करोड १६ लाखभन्दा बढी रहेको छ। हाल कम्पनी आँधिखोला लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रकृयामा रहेको छ। यस पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम गत वर्षको यसै अवधिको तुलनामा १४४ प्रतिशत बढेर रू. २९ करोड ५९ लाखभन्दा बढी कायम भएको छ।
गत वर्षभन्दा साढे ५१ प्रतिशत बढी रू. १ अर्ब ४७ करोड १४ लाख निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा करिब ७७ प्रतिशत बढी रू. ३ अर्ब ९२ करोड ५४ लाख कर्जा प्रवाह गरेको छ। गत वर्ष ३ दशमलव १२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर २ दशमलव ८७ प्रतिशत कायम भएको छ। वार्षिक प्रतिशेयर आम्दानी रू. ४९ दशमलव ७८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू.३४३ दशमलव ३० रहेको छ।