काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकपमा शुक्रबारदेखि छैटौँ चरणको खेल सुरु हुँदै छ। छैटौँ चरणको पहिलो खेलमा शुक्रबार ‘गर वा मर’ को अवस्थामा रहेको पाकिस्तानले दक्षिण अफ्रिकाको सामना गर्नेछ।
उक्त खेल चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा खेलिने छ। सेमिफाइनल प्रवेशको सम्भावनालाई जीवित राख्न पाकिस्तानका लागि यो खेल निकै महत्त्वपूर्ण छ। जारी विश्वकपमा पाकिस्तानले यसअघि खेलेको पाँचमध्ये तीन खेलमा नमिठो पराजय भोगेको छ।
दुई खेलमा मात्र सफलता हात पारेको पाकिस्तानी टोली चार अङ्कसहित तालिकाको छैटौँ स्थानमा आसीन छ। दक्षिण अफ्रिकासँग पनि पराजित भएमा पाकिस्तानको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना प्राविधिक रूपमा मात्र बाँकी रहने छ।
पाकिस्तानले आफ्नो पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो। दोस्रो खेलमा पाकिस्तानले बलियो श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो। त्यसपछि पाकिस्तानी टोली लगातार तीन खेलमा पराजित हुन पुग्यो।
पाकिस्तानी टोली आफ्नो तेस्रो खेलमा चिर प्रतिद्वन्द्वी भारतसँग सात विकेटले पराजित भएको थियो। त्यसपछि चौथो खेलमा पाकिस्तानी टोलीलाई पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलियाले ६२ रनले हराएको थियो।
पाँचौँ खेलमा भने पाकिस्तानी टोली अप्रत्याशित रूपमा अफगानिस्तानसँग आठ विकेटले हारेको थियो। जारी विश्वकपमा पाकिस्तानी टोलीको ब्याटिङ र बलिङ दुवै प्रभावकारी देखिएको छैन। तीव्र गतिका बलरहरु पाकिस्तानी टोलीका प्रमुख हतियार हुन्।
तर, यो विश्वकपमा तीव्र गतिका बलरहरूले पनि खासै कमाल देखाउन सकेका छैनन्। यसका अतिरिक्त एकदिवसीय विश्व वरीयताको पहिलो स्थानमा रहेका पाकिस्तानी कप्तान बाबर आजमको ब्याटिङ पनि खासै चल्न सकेको छैन।
यसको विपरित जारी विश्वकपमा दक्षिण अफ्रिकी टोली लयमा देखिएको छ। दक्षिण अफ्रिकाले हालसम्म एक खेलमा मात्र अप्रत्याशित हार भोगेको छ। दक्षिण अफ्रिकालाई तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्सले ३८ रनले हराएको थियो।
अन्य चार खेलमा भने दक्षिण अफ्रिका ठूलोअन्तरले विजयी भएको छ। दक्षिण अफ्रिकाले श्रीलंकालाई एक सय दुई रनले, बलियो अस्ट्रेलियालाई एक सय ३४ रनले, साविक विजेता इङ्ल्यान्डलाई दुई सय २९ रनले र बंगलादेशलाई एक सय ४९ रनले हराएको छ।
दक्षिण अफ्रिकाले सबै खेल एक सयभन्दा बढीको रनअन्तरले जितेको छ। यसबाट पनि दक्षिण अफ्रिकी टोलीका ब्याट्सम्यानहरु लयमा छन् भन्ने सङ्केत दिन्छ। दक्षिण अफ्रिका आठ अङ्कसहित तालिकाको दोस्रो स्थानमा आसीन छ।
दक्षिण अफ्रिकाको नेट रन रेट पनि अन्य टोलीको तुलनामा सबैभन्दा बढी छ। त्यसैले शुक्रबारको खेलमा पाकिस्तानलाई हराउन सके नेट रन रेटमा भारतलाई पछि पार्दै दक्षिण अफ्रिका अङ्क तालिकाको पहिलो स्थानमा उक्लने सम्भावना छ।