काठमाडौं– इजरायल र प्यालेस्टिनी चरमपन्थी समूह हमासबीच १८ दिनदेखि जारी लडाइँमा परी मृत्यु हुनेको संख्या ६ हजार ५०० भन्दा धेरै पुगेको छ।
बीबीसीका अनुसार युद्धका कारण स्थिति निकै दर्दनाक अवस्थामा पुगेको छ। खासगरी गाजा क्षेत्रको अवस्था यति धेरै निराशाजनक छ कि आमा–बाबुहरुले आफ्ना बालबच्चाको हात र खुट्टामा नाम लेखिदिन थालेका छन् ताकि आक्रमणमा परी मृत्यु भएमा आफ्ना छोरा–छोरीको शव चिन्न सकियोस्।
बीबीसीले खान युनिसमा शरण लिएर बसिरहेको एक परिवारले आफ्नो बच्चालाई बैजनी र कालो रंगको ब्रासलेट लगाइदिएको फोटोसहितको समाचार प्रकाशित गरेको छ। सो समाचारमा लेखिएअनुसार उक्त ब्रासलेटमा बच्चाको नाम लेखिएको छ। किनभने कथंकदाचित इजरायल–हमास युद्धमा त्यो बच्चाको मृत्यु भएमा त्यही ब्रासलेट र ब्रासलेटमा लेखिएको नामबाट बच्चाको पहिचान खुलोस्।
गत हप्ता सामाजिक सन्जालहरुमा आमा–बाबुले आफ्ना बालबच्चाको हात–खुट्टामा नाम लेखिरहेको भिडियो सार्वजनिक भएको थियो। यसका साथै मुटु काँप्ने फोटो पनि सार्वजनिक भएको थियो, उक्त फोटोमा अस्पतालको शवगृहमा बच्चाहरुको शव लहरैसँग राखिएको थियो। ती मृतक बच्चाहरुको ट्राउजर माथि सार्दै अभिभावकले आफ्नो बच्चाको नाम हेरिरहेका थिए।
हमासले इजरायलमा ७ अक्टुबरमा एक्कासी आक्रमण गरेपछि इजरायलले युद्ध घोषणा गर्दै जवाफी कारबाही सुरु गरेको थियो। हमासको आक्रमणमा परी १० नेपालीसहित १ हजार ४०० जनाको मृत्यु भएको पुष्टि भएको छ भने इजरायलले गरेको जवाफी कारबाहीमा सर्वसाधारणसहित ६ हजार ५०० भन्दा धेरै मारिएको हमासले जनाएको छ।
हमासलाई लक्षित गरी आक्रमण गरेको भनिए पनि यसबाट ठूलो संख्यामा बालबालिकाहरुसहित सर्वसाधारण नागरिकहरु मारिएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। हमासका अनुसार इजरायलको हवाई हमलामा परी २ हजार ७०० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको छ।
हमासका अनुसार गत २४ घण्टामा ७५६ जनाको मृत्यु भएको छ भने त्यसमा ३४४ जना बालबालिकाहरु छन्। बीबीसीका अनुसार यो संख्या एकैदिनमा मृत्यु भएको हालसम्मकै धेरै हो।