ओलीलाइ देउवाको प्रश्न्  : ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ? - Chaitanya News
  • 2026-04-24
  • 06:28:52
  • शुक्रबार,बैशाख ११, २०८३
  • ओलीलाइ देउवाको प्रश्न्  : ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ?

    ओलीलाइ देउवाको प्रश्न्  : ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ?

    काठमाडौं– नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न गरेका छन्। प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओली दार्चुला पुगेर गरेको भाषणलाई लिएर ओलीमाथि प्रश्न गरेका हुन्।डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ? कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो।’

    उनले भाषणले सीमा विवाद समाधान नहुने भन्दै यसका लागि सार्थक कूटनीतिक पहल चाहिने र यो काम वर्तमान सरकारले गरिरहेको पनि बताए।

    चीनसँगका सीमा विवाद पनि कूटनीतिक पहलकै आधारमा समाधान हुने प्रधानमन्त्री देउवाको विश्वास थियो। उनले राजनीतिक जीवनको सुरुवातबाट नै सुदूरका हरेक जिल्ला र नेपाली भूमि’दयगत आफू जानकार रहेको उल्लेख गर्दै नक्सा, सीमा सम्झौताका आधार र तथ्यमा टेकी वार्ताबाट नेपाली भूमि फिर्ता ल्याउने पनि बताए।

    निर्वाचनपछि पनि गठबन्धनकै सरकार

    प्रधानमन्त्री देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताए। ‘समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ,’ गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘धेरै लामो लडाइँपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ।’

    प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसविरुद्ध गठबन्धन बनेको पनि बताए। ‘त्यसैले चुनावपछि पनि गठबन्धन सरकार नै बन्छ, ओलीले अति नै गरेपछि हामी अदालत गएका हौं,’ उनले भने।