कागबेनीका बाढी प्रभावितको सहयोगका लागि करिब ८० लाख सङ्कलन - Chaitanya News
  • 2026-11-19
  • 11:04:16
  • बिहिबार,मंसिर ०४, २०८३
  • कागबेनीका बाढी प्रभावितको सहयोगका लागि करिब ८० लाख सङ्कलन

    कागबेनीका बाढी प्रभावितको सहयोगका लागि करिब ८० लाख सङ्कलन

    काठमाडौँ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितलाई राहत जुट्ने क्रम जारी छ। गत साउन २८ गते कागखोलामा आएको बाढीबाट जायजेथा गुमाएकाको पुनः स्थापनाका लागि स्वतःस्फूर्त सहयोग उठिरहेको हो। कागबेनी बस्ती पुनः स्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङका अनुसार जनस्तरबाट हालसम्म करिब ८० लाख सङ्कलन भएको छ।

    सहयोगदाताबाट आएको रकम उद्धार र राहतमा खर्च भइरहेको संयोजक गुरुङले बताए। बाढीबाट पूर्णरुपमा घर क्षति भएका नौ परिवारका लागि कागबेनी नजिकै एक्लेभट्टीमा अस्थायी बास निर्माण थालिएको उनको भनाइ छ।

    बाढीबाट सामान्य क्षति भएका घरको मर्मतसम्भार स्थानीय आफै पनि गरिरहेको उनले बताए। बाढी पसेको ठाउँको सफाइदेखि कागखोलालाई पुरानै धारमा फर्काउने काम भइसकेको छ।

    गृहमन्त्री, मुख्यमन्त्रीलगायतले बस्ती पुनः निर्माण र बाढी प्रभावितको राहतमा कुनै कमी हुन नदिने बताएकाले आफूहरू आशावादी रहेको स्थानीय कर्मा गुरुङले बताइन्। बाढीमा घरबास गुमाएकी गुरुङ अहिले सपरिवार आफन्तकोमा आश्रम लिइरहेकी छन्।

    सङ्घसंस्था, छिमेकी र आफन्तबाट सहयोग पाएको भन्दै छिट्टै सरकारबाट पनि राहत रकम आउनेमा विश्वस्त रहेको उनले सुनाए। हेर्दाहेर्दै कागबेनी क्षेत्र बगरमा परिणत भएकामा उनी दुःखी छन्।

    कागबेनीलाई हिन्दु र बौद्ध समुदायकाले पवित्र तीर्थस्थलका रूपमा लिइन्छ। मुक्तिनाथ क्षेत्र, उपल्लो मुस्ताङ र डोल्पा जाने सङ्गमस्थल पनि हो कागबेनी । कागखोलामा आएको बाढीबाट घर, मन्दिर, धर्मशाला, गुम्बा, सडक, पुललगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो।