काठमाडौं– काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा नेपालले आज हङकङविरुद्ध ब्याटिङ गरिरहेको छ।
टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। यसअघिका दुई खेल जितेको नेपाल यो खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिंदैछ।
यो खेल जिते नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ।
यसै खेलबाट युवा फास्ट बलर प्रतिश जिशीले टी–२० आईमा डेब्यु गरेका छन्।
अघिल्लो खेलमा हङकङविरुद्ध नै खेलेको टिममा केही परिवर्तन गर्दा प्रतिशले मौका पाएका हुन्।
उनी अविनाश बोहराको स्थानमा पहिलो रोजाइमा परेका हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य छनोटकर्ता तथा राष्ट्रिय टिमका पूर्वखेलाडी दीपेन्द्र चौधरीले प्रतिशलाई डेब्यु क्याप दिए। उनी नेपालका लागि टी–२० आई खेल्ने ४५ औं खेलाडी हुन्।
नेपालका लागि प्रतिशले ओडीआईमा यसअघि नै डेब्यु गरिसकेका छन्।
उनले फेब्रुअरीमा पपुवा न्यु गिनीविरुद्ध विश्वकप लिग टु को खेलमा ओडीआईमा डेब्यु गरेका थिए।
आजको खेलबाट स्पिनर ललित राजवंशी पनि टिममा फर्केका छन्। उनी फिट भएपछि प्लेइङ ११ मा परेका हुन्। यसअघि उनको ठाउँमा खेल्दै मौसम ढकालले डेब्यु गरेका थिए।