काठमाडौं– हृदयाघात भइ पेकिङ्ग युनियन अस्पतालमा उपचाररत गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ।
उनको स्वास्थ्यमा राम्रो सुधार भएकाले शुक्रबार बिहान आईसीयूबाट जनरल वार्डमा सारिएको हो। छोटो भिडियो कुराकानीको क्रममा श्रेष्ठ स्वयंले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताएका छन्।
बीआरआईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई गत बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो। बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो। अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकातर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको थियो।
बीआरआईको कार्यक्रममा सहभागी भएर शुक्रबार नेपाल फर्किने कार्यक्रम रहे पनि बिरामी भएकाले उनको चीन बसाइ लम्बिएको छ।