पर्सा — पर्सा–४ मा सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ। प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनतर्फ कांग्रेसका पुराना नेता रमेश रिजाल चुनावी मैदानमा छन्। उनको प्रतिस्पर्धीमा एमालेका जालिम मियाँ छन्।
पर्सा–४ जिल्लाको पश्चिमतर्फ पर्ने तुलनात्मक रूपमा कम विकसित क्षेत्र हो। विगतमा जिल्लामा ५ संसदीय क्षेत्र हुँदा यो क्षेत्र ५ नम्बरका रूपमा रहँदै आएको थियो। यसअघि ६ संसदीय निर्वाचनमध्ये ३ वटामा रिजाल विजयी भएका थिए।
विगतमा कांग्रेसकै नेता रहेका मियाँ त्यसपछि माओवादी हुँदै एमालेमा प्रवेश गरेका छन्। ०७४ को स्थानीय तह निर्वाचनमा जगरनाथपुर गाउँपालिका अध्यक्षमा माओवादीबाट निर्वाचित भएका मियाँ यसपटक एमालेबाट संसदीय निर्वाचनमा होमिएका छन्। यो उनको पहिलो संसदीय निर्वाचन अनुभव हो।
विगतमा रिजालको परम्परागत प्रतिस्पर्धी रहँदै आएकी उर्मिला अर्याल हाल निर्वाचनको दौडमा छैनन्। उनी एमाले त्यागेर माओवादीमा प्रवेश गरेपछि हाल राष्ट्रिय सभा सदस्य छिन्। अर्याल बाटोबाट हटेपछि रिजालले नयाँ प्रतिस्पर्धी पाइरहेका छन्। ०४८ को निर्वाचनमा रिजाल विजयी हुँदा एमालेकी अर्याल निकटतम् प्रतिद्वन्द्वी थिइन्।
०५१ को मध्यावधि निर्वाचनमा पनि अर्याललाई पछि पार्दै रिजाल नै विजयी भए। ०५६ मा अर्याल विजयी हुँदा रिजाल दोस्रो नम्बरमा रहे। ०६४ को निर्वाचनमा रिजाल विजयी हुँदा अर्याल निकटतम् प्रतिद्वन्द्वी रहिन्। २०७० को निर्वाचनमा एमालेका जयप्रकाश थारू विजयी हुँदा रिजाल निकटतम् प्रतिद्वन्दी रहे। २०७४ मा लोसपाका लक्ष्मणलाल कर्ण विजयी हुँदा रिजाल दोस्रो नम्बरमा थिए।
कर्ण यसपटक जिल्लाको क्षेत्र नं। १ बाट ५ दलीय गठबन्धनका उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । कांग्रेसका पुराना नेता र ३ पटक विजयी हुँदा पनि रिजालले हालसम्म संघीय सरकारमा मन्त्री पदको अवसर पाएका छैनन्। ६५ वर्षको हाराहारी उमेरका रिजालको यसपटकको उम्मेदवारीलाई धेरैले अन्तिम अनुमान गरिरहेका छन्।
गठबन्धनका कारण रिजाललाई केही सहज भएको अनुमान गरिए पनि एमाले र जसपा गठबन्धनका कारण मियाँले कडा टक्कर दिने देखिएको छ। यो क्षेत्रमा ठोरी, जिराभवानी, धोबिनी, छिपहरमाई, कालिकामाई गाउँपालिकाको पूरै क्षेत्र पर्छ। त्यसैगरी, जगरनाथपुर गाउँपालिका– १ देखि ५, पोखरिया नगरपालिका–३ र पकाहामैनपुर गाउँपालिका–५ पनि यसै क्षेत्रमा पर्छ। यस क्षेत्रमा समुदायको हिसाबले मधेसी, पहाडी, थारू, मुस्लिम मतदाताको उपस्थिति छ।
रिजाल यसपटक जनताले आफूलाई जिताउने दाबी गर्छन्। ‘कांग्रेस संविधान र संघीयताको रक्षासँगै मुलुकलाई समृद्धितर्फ लैजान अग्रसर छ भन्ने कुरा मतदाताले राम्रोसँग बुझेका छन्,’ उनले भने, ‘त्यसैले कांग्रेसलाई मतदाताले यसपटक भरोसा गरेका छन्।’ यता मियाँ पनि मतदाताले आफूलाई विजयी गराउने दाबी गर्छन्। उनले ३० वर्षदेखि निरन्तर एउटै उम्मेदवारलाई मतदाताले भोट दिई आएको र यसपटक नयाँपन खोजेको बताए। ‘मतदाता ३० वर्षदेखि एउटै व्यक्तिलाई भोट दिएर थाकिसके,’ उनले भने, ‘अब नयाँ अनुहारलाई विजयी गराउन चाहन्छन्, त्यसकारण पनि मेरो विजय सुनिश्चित छ।’