गाउँपालिकामा दिगो विकासमा आधारित गुरु योजनाको अभाव छ - Chaitanya News
  • 2026-11-19
  • 10:05:53
  • बिहिबार,मंसिर ०४, २०८३
  • गाउँपालिकामा दिगो विकासमा आधारित गुरु योजनाको अभाव छ

    गाउँपालिकामा दिगो विकासमा आधारित गुरु योजनाको अभाव छ

    चैतन्य खबरले विभिन्न पालिकाका प्रशासकीय अधिकृत र नगरप्रमुखसँग अन्तर्वार्ताको सेसन सुरु गरेको छ। पालिकाभित्र भइरहेको कामलाई जनतासमक्ष पुर्‍याउने र केही पालिकाहरूमा भौगलिक विकटताका र सिमित स्रोत साधनका बीच काम गर्न असहज भइरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन् र त्यहाँका जनताको अपेक्षा के छ? भन्ने विषयमा चैतन्य खबरले ग्रामथान गाउँपालिका, कोशी प्रदेश, मोरङका गाउँपालिका प्रमुख जय प्रकाश गच्छदार थारुसँग गरेको संवादको सम्पादित अंश :

    तपाईँको गाउँपालिका भित्रका सबल पक्षहरूमा के के पर्छन्?

    यस गाउँपालिकामा सहरी विकासका लागि पर्याप्त जमिनको उपलब्धता छ। पूर्वपश्चिम राजमार्गसँग जोडिएको सडक संजाल सहितको यातायत सुविधा यस गाउँपालिकाको अर्को महत्वपूर्ण सबल पक्ष हो। यहाँबाट नजिक रहेका विराटनगर, विराटचौक, बेलवारी जस्ता ठूला शहरी क्षेत्रबाट विभिन्न प्रकारका लाभ प्राप्त गर्न सकिने सम्भावना छ। बालमैत्री स्थानीय शासन कार्यान्वयन रणनीतिक योजना तयार भई कार्यान्वयनको चरणमा रहेको छ। शैक्षिक क्षेत्रमा बिगतको तुलनामा सुधार भई विधालय भर्ना दरमा १० प्रतिशत बृद्धि भएको छ। यस गाउँपालिकाको सुविधायुक्त आफ्नै कार्यालय (भवन) छ भने सातवटै वडा समितिका आ–आफ्नै कार्यालय भवन छन्। अधिकांश टोलबस्तीमा विधुत सेवा पुगेको छ भने करिब ७० प्रतिशत जमिनमा सिंचाइ सुविधाको पहुँच रहेको अवस्था छ। यस क्षेत्रमा उत्पादित जुनसुकै वस्तुका लागि पनि बजारको अभाव छैन। नजिकै रहेका ठूला शहरी क्षेत्र र यातायात सुविधाका कारण यहाँ उत्पादित वस्तु देशको कुनै पनि स्थानमा पु–याउन सकिने सम्भावना रहेको छ। यस गाउँपालिको गाउँ पार्श्वचित्र र एकीकृत आवधिक गाउँविकास योजना निर्माणको चरणमा रहेकको छ।

    तपाईँ गाउँपालिका प्रमुख भएपछि तपाईँले देखेका कमजोर पक्ष के के हुन्?

    यस ग्रामथान गाउँपालिकामा दिगो विकासमा आधारित गुरु योजनाको अभाव छ। स्तरीय पूर्वाधारको कमी छ। यहाँको सडक सञ्जाल पर्याप्त छैन। कालोपत्रे सडक अत्यन्तै न्यून छ। लोहन्द्रा, जुडी र सिंगिया नदीको कारण यहाँका जनताले वर्षेनी कटान र बाढीको प्रकोप व्यहोर्नु परेको छ। फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइडको अभाव रहेको छ। शुद्ध पिउने पानी, सडक, बत्ती, ल्याण्डलाइन टेलिफोन जस्ता सेवाहरु पर्याप्त छैनन्। गाउँको सामाजिक, आर्थिक रुपान्तरण र भौतिक पूर्वाधार निर्माणमा समुदायको लागत सहभागिता अति न्यून छ। सामुदायिक विधालयहरुमा प्राविधिक शिक्षाको पठन – पाठन संचालन गर्न सकिएको छैन। मुख्य पेशाको रुपमा रहेको कृषिलाई आधुनिक तरिकाले व्यवसायिकरण गर्न सकिएको छैन। यहाँको कृषि प्रणाली हालसम्म निर्वाहमुखी नै रहेको छ। सुविधायुक्त स्वास्थ्य संस्थाको कमी छ। खाध गुणस्तर परीक्षण तथा नियन्त्रण हुन नसकेका कारण खाध पदार्थमा विषादी, अखाध वस्तु र मिसावटयुक्त पदार्थको प्रयोग भइरहेको छ, जसका कारण मानव स्वास्थ्यमा अनेक प्रकारका समस्याहरु देखिएका छन्। यस गाउँपालिकामा सुदृढ औधोगिंक र व्यापारिक आधारशिला नभएका कारण बेरोजगारी समस्या बढ्दै गइरहेको छ। आन्तरिक आय न्यून रहेका कारण गाउँ कार्यपालिकाको दैनिक प्रशासनिक खर्च धान्न कठिनाइ पैदा भएको छ। आफ्नै कार्यालय भवन हुँदाहुँदै पनि कार्यकक्ष साँघुरो भएका कारण कतिपय शाखालाई काम गर्न अप्ठ्यारो परेको अवस्था छ। समग्रमा भन्नु पर्दा ग्रामथान गाउँपालिका आर्थिक,सामाजिक, भौतिक तथा वातावरणीय आधारमा प्राराम्भिक अवस्था मै रहेको छ।

    कमजोर पक्ष त निकै रहेछन्। तर गाउँपालिकाका लागि अवसर पनि त होलान् नि! अवसरचाहिँ के देख्नुभएको छ?

    ग्रामथान गाउँपालिका विराटनगर जस्तो कोशी प्रदेशको राजधानी रहेको शहरसँग जोडिएको र यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले विराटनगरसँग ग्रामथान गाउँपालिका सहित मोरङ र सुनसरी जिल्लाका १३ वटा स्थानीय तहहरुलाई समाहित गरी वृहत्तर विराट विकास क्षेत्रको अवधारणा अघि सारेको हुँदा यसबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना रहेको छ। विराटनगर – विराटचौक सडक तथा मिलनचोक, सिमरिया, हरैँचा सडकले यस गाउँपालिकाको यातायात सुविधामा ठूलो योगदान पु–याएको छ। उर्वर कृषियोग्य जमिन प्रशस्त मात्रामा भएको हुँदा कृषि क्रान्तिको ढोका खोल्ने ठूलो अवसर प्राप्त छ। यस गाउँपालिकामा रहेका धार्मिक स्थलहरुको सम्बर्द्धनबाट सांस्कृर्तिक पर्यटन र होमस्टे पर्यटन प्रवर्धनको विकास गर्न सकिने सम्भावना रहेको छ। शहरी विकासका लागि पर्याप्त जग्गा रहेको छ।

    तपाईँले आफ्नो गाउँपालिकामा प्रस्टसँग देखेको चुनौति के के हो?

    यस गाउँपालिकामा अव्यवास्थित बसोबास मुख्य चुनौतिका रुपमा रहेको छ भने नदी कटान र वर्षेनी आउने बाढी अर्को प्रमुख चुनौति हो। वर्षेनी ठूलो संख्यामा युवाशक्ति विदेश पलायन हुने गरेको छ। यसले गाउँको विकासमा प्रतिकूल प्रभाव पारेको छ। यसरी गाउँको सक्रिय जनसंख्या श्रम पलायनका कारण विदेशिने गरेको हुँदा कृषि पेशा नै संकटमा पर्ने खतरा बढेको छ। त्यसै गरी गरिबी, बेरोजगारी, अशिक्षा र अन्धपरम्परा यहाँको आर्थिक, सामाजिक र भौतिक विकासका लागि चुनौतिका रुपमा रहेका छन्। भूमिको समुचित व्यवस्थापन हुन नसक्नु अर्को चुनौतिको विषय हो। यहाँ खेतीपाती गर्ने मानिसहरुसँग अति कम जमीन छ भने बढी जमीन हुने मानिसले खेती गर्न छोड्दै गएका छन्। बढी जमीन हुने जमिनदारहरु कृषि पेशा छोडेर शहरतिर सर्ने परिपाटी बढ्दै गएको छ। शैक्षिक बरोजगारी समस्याको रुपमा वृद्धि भएको छ।