काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
राजधानीमा आज आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखास्थित वाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आगामी निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्र नलिन सम्बद्ध नेता कार्यकर्तालाई आग्रह समेत उनले गरे ।
आर्थिक समृद्धिमार्फत जनताको मन नजितेसम्म राजनीतिक परिवर्तन दिगो हुन नसक्ने जिकिर गर्दै उनले अब विकास र समृद्धिको नयाँ यात्रा गोरखाबाटै सुरु हुने बताए ।
यता नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्ति एक ठाउँमा आउनुपर्ने बताए ।
गणतन्त्रको जग दह्रो भएर समृद्धिको ढोका नखोलेसम्म अग्रगामी शक्तिबीचको एकता र सहकार्य आवश्यक रहेको जनाउँदै अध्यक्ष भटृराईले आसन्न निर्वाचन परिवर्तनका पक्षमा रहेका शक्तिबीच सहकार्यको नमूना हुने बताए ।
कृषिप्रधान अर्थतन्त्रको विकास गर्दै पूर्वाधार निर्माणमा दलको ध्यान जानुपर्नेमा जोड दिँदै उनले पूर्वाधार निर्माणसँगै रोजगारी अभिवृद्धिका योजनालाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।