लोकसेवा उपयोगी सामग्री [२२] - Chaitanya News
  • 2026-04-24
  • 06:28:45
  • शुक्रबार,बैशाख ११, २०८३
  • प्रश्नः बजेटका प्रकारहरु बारे चर्चा गर्दै सबल बजेट प्रणालीका गुणहरु लेख्नुहोस । ५+ ५ =१०

    उत्तरः
        बजेटका प्रकारका साथै सबल बजेट प्रणालीका गुणहरु
    १. बजेटको परिचय
    राज्य प्रणालीको आवधिक समयसीमाभित्र रहेर सार्वजनिक साधनको संकलन तथा बिनियोजन गर्ने विधि तथा प्रक्रिया बजेट हो । यसलाई सरकारको नीति, योजना, उद्देश्य, रणनीति, प्राथमिकता, क्रियाकलाप र त्यसमा श्रोतको सुनिश्चितता सहित समष्टिगत रुपमा हेरिन्छ । यसमार्फत सरकारले श्रोत साधनको संकलन तथा खर्चको वैधानिकता प्राप्त गर्ने गर्दछ ।

    २. बजेटका प्रकारहरु
    बजेटलाई उद्देश्य, विषय, संगठन, खर्च व्यवस्थापन, लेखांकन र संसदीय अनुमोदन प्रक्रिया लगायतका आधारमा वर्गीकरण गर्ने गरिएको छ । जसमध्ये केही महत्वपूर्ण प्रकारहरुलाई देहाय अनुसार प्रस्तुत गरिएको छः

    • साधारण र विकास बजेटः राज्यको दैनिक खर्च र अनिवार्य दायित्वको बजेट साधारण हो भने विकासमा खर्च हुने बजेट विकास बजेट हो ।
    • सन्तुलित र असन्तुलित बजेटः  साधनको परिचालन र खर्चको बिनियोजन सन्तुलनमा रहेको बजेट सन्तुलित बजेट हो, साधनको परिचालन र खर्चको बिनियोजनबीच ठूलो फरक रहेको बजेट असन्तुलित बजेट हो ।
    • आर्थिक तथा कार्यमूलक बजेटः  बजेटमा आय र व्ययको वर्गीकरण आर्थिक क्षेत्रअनुसार गरिएको हुन्छ भने त्यसलाई आर्थिक बजेट भनिन्छ भने कार्यका आधारमा गरिएको बजेटलाई कार्यमूलक बजेट भनिन्छ ।
    • संसदीय र कार्यकारी बजेटः  सरकारले प्रस्तुत गरेको बजेटलाई संसदले जस्ताको तस्तै अनुमोदन गर्छ भने त्यो कार्यकारी बजेट हो भने सरकारले प्रस्तुत गरेको बजेटलाई संशोधन गर्न सक्ने तथा नयाँ बजेट बनाउन सक्ने बजेट संसदीय बजेट हो ।
    • लाइन आइटम बजेटः  खर्चको शीर्षकगत बजेट बिनियोजन प्रणाली भएको बजेट
    •  कार्यक्रम बजेटः उद्देश्य, कार्यक्रम र खर्चबीच तादाम्यता कायम गरी निर्माण भएको बजेट
    • शून्यमा आधारित बजेटः कार्यक्रमको आवधिक मूल्यांकन गरी लगानी गर्न उपयुक्त छ कि छैन भन्ने आधारमा प्रतिवर्ष साधनको बिनियोजन गर्ने प्रणाली भएको बजेट

    ३. सबल बजेट प्रणालीका गुणहरु
    सरकारले प्रस्तुत गरेको बजेट यथार्थपरक, बस्तुसंगत, कार्यान्वयनयोग्य हुनुपर्छ भन्ने सामान्यः मान्यता हो । त्यसका अतिरिक्त सबल बजेट प्रणालीका गुणहरुलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छः

    • बजेट सम्बन्धी निर्णयहरु स्थापित सिद्धान्त, नीति र कानुनका परिधिमा रहेर वैधानिक प्रकृतिको हुनुपर्छ,
    • सम्पूर्ण सरकारी वित्तीय क्रियाकलापलाई समेट्ने प्रकृतिको विस्तुत र अर्थव्यवस्थाका सबै क्रियाकलापलाई समेट्ने गतिशिल हुनुपर्छ,
    •  व्यवस्थापकीय लचकताले युक्त बजेट हुनुपर्छ
    •  साधन बिनियोजनको अनुमानयोग्यता निश्चित मापदण्डमा आधारित विश्वासयोग्य हुनुपर्छ,
    • जनताको आवश्यकता, देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्थासँग सान्दर्भिक प्रकृतिको बजेट हुनुपर्छ
    • साधनको अनुमान तथा खर्चको बिनियोजन निश्चित मापदण्ड, विधिमा आधारित हुनुपर्छ, जसका लागि इमान्दारिता जरुरी छ,
    • बजेट सर्वसाधारण सबैले जान्ने, सुन्ने प्रकृतिले प्रस्तुत गरिनुपर्छ अर्थात सुचनामूलक हुनुपर्छ,
    •  बजेट सुशासनको मुल्य मान्यतामा आधारित भएर निर्माण गरिनुपर्छ । त्यसैले यसमा पारदर्शिता र जवाफदेहिताका गुणहरु विद्यमान रहनुपर्छ ।

    ४. निष्कर्षः
    सरकारले जनतामाथि गरेको बाचा र प्रतिवद्धता पुरा गर्ने दस्तावेजका रुपमा रहेको बजेट यसका प्रकृतिका आधारमा माथि उल्लेख गरिए अनुसार विभिन्न प्रकारका हुन्छन् । माथि उल्लेख गरिएका अलाबा सार्वजनिक जवाफदेहिता र पारदर्शिता, कार्यान्वयन योग्यता, बस्तुनिष्ठता असल बजेटका गुणहरु हुन ।