निर्वाचनका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने - Chaitanya News
  • 2026-04-25
  • 11:37:46
  • शनिबार,बैशाख १२, २०८३
  • निर्वाचनका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने

    निर्वाचनका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने

    काठमाडौं- नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी तीव्र बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।

    कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिको सोमबार सम्पन्न बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न र चुनावी प्रचारप्रसार अझै व्यापक बनाउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो।

    कांग्रेस पूर्वउपसभापति एवं समिति संयोजक गोपालमान श्रेष्ठका अनुसार बैठकमा स्थानीय तहदेखि केन्द्रसम्म गठित समिति, उपसमिति र समन्वय समितिहरूलाई प्रभावकारी बनाउने निर्णय भएको छ। उनले पाँच दलबीच भएको गठबन्धनलाई सफल बनाउने विषयमा पनि बैठकमा छलफल भएको बताए।

    निर्वाचन लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउने र सबै जिल्लामा गठबन्धनका उम्मेदवार, नेता, कार्यकर्ताबीच समन्वय गर्न केन्द्रबाट प्रतिनिधिहरू पठाउने श्रेष्ठले बताए। उनले कांग्रेस र गठबन्धनमा आबद्ध दलबीच भएको सहमति कार्यान्वयन गर्नका लागि पार्टीका सबै तहका संयन्त्रलाई परिचालन गरिएको बताए। उनले समितिको सचिवालयसहित विभिन्न उपसमितिलाई अझै प्रभावकारी बनाउने बताए।