भीम रावलको प्रश्न- दार्चुला घटनामा बोल्न परराष्ट्र मन्त्रालयको घाँटी कसले अठ्यायो? - Chaitanya News
  • 2026-04-25
  • 11:37:36
  • शनिबार,बैशाख १२, २०८३
  • भीम रावलको प्रश्न- दार्चुला घटनामा बोल्न परराष्ट्र मन्त्रालयको घाँटी कसले अठ्यायो?

    भीम रावलको प्रश्न- दार्चुला घटनामा बोल्न परराष्ट्र मन्त्रालयको घाँटी कसले अठ्यायो?

    काठमाडौं- नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले भारतमा विस्फोट गर्दा दार्चुलामा उछिटिएर आएको ढुंगाले लागेर ९ वर्षीय बालकको मृत्यु भएको घटनामा सरकारलाई प्रश्न गरेका छन्।

    उनले परराष्ट्र मन्त्रालय अहिलेसम्म मौन बसेको भन्दै प्रश्न उठाएका हुन्। शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले परराष्ट्र मन्त्रालयको घाँटी कसले अठ्याएको भन्दै प्रश्न गरेका हुन्।

    शुक्रबार महाकाली पारी पिथौरागढ जिल्लाको धार्चुलामा सडक बनाउन विस्फोट गरेको थियो। विस्फोट गर्दा उछिटिएर आएको ढुंगाले लागेर व्यास नगरपालिका-२ का ९ वर्षीय पवन महराको मृत्यु भएको थियो। यसमा सोही ठाउँकी १४ वर्षीया सरीना महरा पनि घाइते भएकी थिइन्।

    ‘दार्चुलाका जयसिंह धामीलाई भारतीयले तुइन खुस्काइ महाकालीमा बगाएको एक वर्ष बित्दाबित्दै सडक निर्माणमा गरेको विस्फोटको ढुंगा लागेर ९ वर्षीय पवन महराको दुःखद निधन भएको छ,’ उनले लेखेका छन्, ‘१४ वर्षीया सरीना महरा घाइते भएकी छिन्। सीमानामा यस्तो ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन? घाँटी कसले अठ्यायो?’