कर्मचारी र जनप्रतिनिधिले मिलेर काम गर्दा चाँडो नतिजा दिन सकिन्छ - Chaitanya News
  • 2026-07-22
  • 18:26:46
  • बुधबार,साउन ०६, २०८३
  • कर्मचारी र जनप्रतिनिधिले मिलेर काम गर्दा चाँडो नतिजा दिन सकिन्छ

    कर्मचारी र जनप्रतिनिधिले मिलेर काम गर्दा चाँडो नतिजा दिन सकिन्छ

    नेपाल संघीयताको अभ्यासमा छ। यो अभ्यास केहि हदसम्म सफल पनि भइरहेको छ। ७५३ स्थानीय तह स्थानीय सरकारका रूपमा कार्यरत छन्। संविधानले जारी गरेको राज्य सञ्चालनको बाँडफाँडको आधारमा एउटा स्थानीय तह आफैँमा एउटा सरकार हो। मेयर वा अध्यक्ष त्यस स्थानीय तहको सरकार प्रमुख हन्। प्रमुख प्रशासकीय अधिकृत मुख्य सचिव हुन। एउटा मन्त्रालयको मुख्य सचिवको भूमिका जस्तै एक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको हालको अवस्थामा उस्तै भूमिका हो भन्ने कुरालाई पनि हामी नकार्न सक्दैनौं। सरकार प्रमुखको काम नीति, नियम, कानुन र कार्यविधि तथा मुख्य सचिवको काम यस्ता नीति नियमको प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याउने र ल्याउन लगाउने प्रमुख दायित्व र जिम्मेवारी भित्र पर्न आउँछ। त्यतिमात्रै नभइ प्रमुख प्रशासकीय अधिकृत आर्थिक अधिकार र आर्थिक नियम तथा प्रशानिक कामकाज गर्ने गराउने स्थानीय तहको कार्यलयको कार्यलय प्रमुख पनि हो। पालिकाभित्र भइरहेको कामलाई जनतासमक्ष पुर्‍याउने र केही पालिकाहरूमा भौगलिक विकटताका र सिमित स्रोत साधनका बीच काम गर्न असहज भइरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन्? त्यहाँका जनताको अपेक्षा के छ? यिनै कुरालाई मध्यनजर गर्दै चैतन्य खबरले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत संवाद गरिरहेको छ। चैतन्य खबरका लागी निर्मला कडायतले आज डोटीको शिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिचन्द्र शाहसँग गरेको संवादको सम्पादित अंश:

    तपाईंले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको कति भयो?

    मैले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको एक सातामात्रै भएको छ। असोज १५ गतेमात्रै मैले पदभार ग्रहण गरेको हुँ।

    यो छोटो समयमा यहाँका जनप्रतिनिधिको व्यवहार र यहाँको माहौल कस्तो पाउनु भयो?

    म विगतमा पनि यहिँ पालिकाभित्रै अर्को शाखामा कार्यरत थिएँ। प्रमुख प्रशासकीय अधिकृतका रूपमा १५ असोजमा मात्रै मैले पदभार गरेको छु। मैले पहिले पनि यहिँ पालिकामा काम गरेको र अहिले पनि प्रशासकीय अधिकृतका रूपमा यसै पालिकाको जिम्मेवारी पाएकाले यो पालिका र यहाँका जनप्रतिनिधिसँग मेरो पुरानै सम्बन्ध छ। मैले आएको दिनबाट नै यहाँका कर्मचारीसँग बस्ने, छलफल गर्ने, वडा सचिवहरूसँग बस्ने र आएका सेवाग्रहीसँग उहाँहरूले चाहिँ रहनु भएको सेवाका बारेमा बुझ्ने गरेको छु। हाम्रो चाहना भनेकै जनपक्षीय सेवा प्रवाह गर्नु हो। त्यसमा सजग छु। र, सोही अनुरुप नै सेवा प्रवाह गर्ने छु। यतिबेला यहाँको नगर प्रमुख बाहिर जानु भएको छ। त्यसैले जनप्रतिनिधिहरूको बैठक बस्न सकेको छैन। हामी जनप्रतिनिधिसँग मिलेर नै अगाडि बढ्ने छौं। जनप्रतिनिधिहरूबाट हामीले रचनात्मक सहयोग पाउने पनि मेरो अपेक्षा छ। कर्मचारी र जनप्रतिनिधिले मिलेर काम गर्दा चाँडो नतिजा दिन सकिन्छ।

    तपाईंले जनअपेक्षा छलफल गरिरहेको भन्नु भयो, यो छोटो अवधिमा जनताको कस्तो अपेक्षा पाउनु भएको छ?

    प्रमुख प्रशासकीय अधिकृतको रूपमा आइसकेपछि जनताको अपेक्षा मसँग धेरै हुन्छ। जुन स्वभाविक पनि हो। यो पालिका दुई/तीन महिना प्रमुख प्रशासकीय अधिकृत विहीन पनि रह्यो। अहिले म जिम्मेवारिमा आउँदा रोकिएका योजनादेखि पालिकाले प्रवाह गर्ने सेवामा सहजता हुने उहाँहरूमा अपेक्षा छ। जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न र सेवा प्रवाहका रूपमा उहाँहरूले भोग्नु परेका कठिनाईको समाधान गर्दै प्रविधि र जनमैत्री पालिका बनाउने मेरो भूमिका रहने छ।

    तपाईंले पालिकामा प्रशासकीय कार्यशैलीको कुसल व्यवस्थापन कसरी गर्ने सोच बनाउनु भएको छ?

    पालिकाका जनतालाई सेवा दिने भनेर हामी यहाँ आएका हौं। त्यसका लागि हामीसँग विभिन्न सङ्यन्त्र छन्। विभिन्न शाखा छन्। शाखामार्फत हुने सेवा प्रवाहलाई चुस्तता पार्ने छौं। विभिन्न वडा र शाखाबाट आएका रिपोर्टको अध्ययन गर्दै त्यहाँका समस्याको पहिचार गरेर समाधान हुनेगरि काम पनि गर्ने छौं। यो पालिकामा ११ वटा छन्। सबै वडाका सचिवसँग कुसल सेवा प्रवाहका लागि मेरो कुरा भइसकेको छ। उहाँहरूले मलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ। उहाँहरूलाई मैले पनि आवश्यक सहयोग अवश्य गर्ने छु। एकल प्रयासले केहि हुँदैन। हामी सबैले हातेमालो गर्‍यौं भने राम्रो गर्न सक्छौं।

    कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ?

    नेपाल सरकारले कायम गरेको दरबन्दी अनुसार त कर्मचारीहर छैनन्। तथापि स्थानीय सरकारले विभिन्न शाखालगायत प्रशासनीक क्षेत्रमा काम गर्नका लागि आफ्नो स्रोतबाट पनि करार सेवामा कर्मचारी राखेको छ। त्यसरी पनि हामीले जनतालाई प्रदान गर्ने सेवालाई सहज तुल्याएका छौं। ५ वटा वडामा मात्रै वडा सचिव छन्। ६ वटा वडा सचिव बिहीन छन्। तर, पनि हामीले एक अर्कासँग समन्वय गरेर काम गरिरहेका छौं।

    अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनु भएका परीक्षार्थीलाई के भन्न चाहनु हुन्छ? कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ लाग्छ यहाँलाई?

    अहिले स्थानीय सरकारहरू देशभरि ७५३ वटा भइसकेपछि पहिलाको तुलनामा कर्मचारीको माग बढेको देखिन्छ। बीचमा लोकसेवा तयारी गर्ने युवाहरूको मनोवल खस्किएको थियो। सिमित सिट हुन्थे। पछिल्लो समय दरबन्दी बढेका छन्। स्थानीय स्तरमै पनि थुप्रै दरबन्दि छन्। प्रदेश स्तरमा स्थापना भएका कार्यलयमा पनि दरबन्दी छ। पुरानो कर्मचारीलेमात्रै सबै संस्था धान्न सम्भव छैन। त्यसैले स्थानीय तहले आफ्नै पहलमा पनि केहि कर्मचारी राख्नु पर्ने आवश्यक छ। त्यसैले गुणस्तरीय युवाहरूले लोकसेवाको तयारी गरेर विभिन्न तहमा नाम निकाल्न सक्ने अवस्था छ। त्यसैले लोकसेवाको तयारी गर्न म युवाहरूलाई अनुरोध गर्दछु। कुनै पावर विना आफ्नो क्षमताले नाम निकाल्न सकिने भएकाले पनि लोकसेवाको तयारी गर्नु उपयुक्त हुन्छ। तयारीका लागि त बजारमा निस्किएका चलेका लेखकहरूका पुस्तक अध्ययन गर्नुपर्‍यो। आफूले नोट बनाउनु पर्यो। अनुकुल समयमा बढी भन्दा बढी अध्ययन गर्नुपर्‍यो। दैनिक हुने घटनाक्रमसँग अपडेट हुनुपर्‍यो।