सल्यान- सवारी दुर्घटना बढ्दै गएपछि राप्ती राजमार्गमा ‘टाइम कार्ड’ लागू गरिने भएको छ। दुर्घटना न्यूनिकरणका लागि राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्डको दाङको गोठीखोलादेखि सल्यानको लुहामसम्म ‘टाइम कार्ड’ लागू गरिने भएको हो।
बढ्दो सवारी दुर्घटना न्यूनिकरणका गर्न ‘टाइम कार्ड’ लागू गर्न सम्बन्धित निकायसँग पहल गर्ने निणर्य गरिएको सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिए।
चालकको लापरबाहीले बढी दुर्घटना देखिएकोले दाङको गोठी खोलादेखि सल्यानको लुहामसम्ममा ‘टाइम कार्ड’ लागू गर्न आवश्यक पहल गर्ने निर्णय गरिएको उनले बताए।
राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्डको सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा शनिबार दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको ज्यान जानुका साथै १५ जना घाइते भएका थिए।
राप्ती राजमार्गमा सवारी दुर्घटना अत्याधिक हुन थालेपछि कपुरकोट गाउँपालिकामा आइतबार आकस्मिक बैठक बसेको हो। बैठकले दुर्घटना न्यूनिकरणका लागि आवश्यक पहल गर्ने निणर्य गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताए। यस्तै सडकमा सचेतमूलक ट्राफिक चिन्ह, सुचनामूलक बोर्डहरु पनि राख्ने निणर्य गरिएको उनले जानकारी दिए।

