जोकोही मानिस आफ्नो जीवनमा सफल हुन चाहन्छ। सफलता हासिल गर्दै आफ्नो नाम दुनियामा रोषन होस् भन्ने जसको पनि चाहना हुन्छ। चाहना भएरमात्र पुग्दैन, सफलता हासिल गर्न सोहि अनुरुप कर्म पनि गर्नुपर्छ। हामीले जस्तो कर्म गर्छौ त्यस्तै नतिजा भोग्छौं। आज हामी त्यस्तै एक जना सफल व्यक्तिले जीवनमा अवलम्बन गरिरहेका सफलताका सुत्रलाई प्रस्तुत गरिरहेका छौं।
एलन मस्क विश्वका धनाढ्यहरूको सूचीमा पहिलो नम्बरमा छन्। स्पेस एक्स र टेस्ला कम्पनीका सिइओ तथा लगानीकर्ता मस्कले युवा व्यवसायीहरूलाई सफल हुनका लागि बेला बेला सुझाव दिइरहेका हुन्छन्।
यस्ता छन् मस्कले दिएका सुझाव:
प्रतिक्रिया माग्नुहोस्
कुनै पनि व्यवसाय सुरु गर्दा गल्तीहरू हुन सक्छन्। त्यही कारण तपाईंले धेरैभन्दा धेरै मानिससँग प्रतिक्रिया माग्नुहोस्। आफ्नो योजना र आफूले दिइरहेको सेवाका विषयमा प्रतिक्रिया माग्नुस्। आलोचनात्मक प्रतिक्रिया खोज्नुस्। के गल्ती भयो भनेर सोध्नुस्।
अरूले दिने सिर्जनात्मक आलोचना सधैँ महत्वपूर्ण हुन्छ। कहिलेकाहीँ आलोचना सुन्न गाह्रो पनि हुन्छ। तर, यो सिक्ने प्रक्रियाको हिस्सा हो। तपाईं व्यवसायमा सफल बन्न चाहनुहुन्छ भने प्रतिक्रियालाई व्यक्तिगत रूपमा नलिनुस्। यदि कुनै काम थाल्दै हुनुहुन्छ भने गल्तीरहित हुन गाह्रो छ। त्यसैले अन्य व्यक्तिले दिएको प्रतिक्रिया महत्वपूर्ण हुन सक्छ।
हात फोहोर गर्नुस्
मैले मिहिनेत गर्नुस् भन्न खोजेको हो। घन्टाको ख्याल नगरी काम गर्नुस्। कुनै पनि काम सहज हुँदैन। सुरुवातमा व्यापार अझै कठिन हुन्छ। खटिरहनुस्।
कामदार छनोट
नयाँ कामदारको छनोट गर्दा आफ्नो कम्पनीमा विद्यमान टिमसँग मिल्ने खालका कामदार छनोट गर्नुस्। सबैले तपाईंको मिसन के हो भनेर बुझ्न जरुरी छ। लक्ष्य के हो भनेर बुझ्न जरुरी छ। उनीहरू सबैले त्यही लक्ष्यका लागि काम गर्नुपर्छ। कम्पनीले के गर्दै छ भन्ने उनीहरूलाई थाहा हुनुपर्छ।
स्पष्ट भिजन
तपाईंसँग स्पष्ट भिजन हुन जरुरी छ। कुन उद्देश्यका साथ व्यवसाय सुरु गर्दै छु र कम्पनीलाई कहाँ लैजाँदै छु भन्नेमा स्पष्ट हुनुहोस्।
औपचारिकतामा ध्यान नदिनुस्
व्यवसायमा धेरै औपचारिक भएर हुँदैन। तपाईं स्मार्ट र क्रिएटिभ हुनुपर्छ।
पैसामा केन्द्रित नहुनुस्
मैले पैसा कमाउनका लागि टेस्लामा लगानी गरेको थिइनँ। पेट्रोल–डिजेलबाट गुड्ने गाडी वातावरणमैत्री नभएकाले मैले इलेक्ट्रिक अटोमोबाइल कम्पनी खडा गरेँ। यो सम्पत्तिको कुरा होइन। मैले जुन कुरालाई ठूलो समस्या मानेको थिएँ, त्यसको समाधान हुँदै छ। अन्यथा, वातावरण संरक्षण नगर्दा हामी आफैँ समस्यामा पर्छौं।
प्रतिबद्धता
जे गर्दै हुनुहुन्छ, त्यसमा प्रतिबद्ध हुन जरुरी छ। फेरि पनि भन्छु, पैसा मात्रै ठूलो होइन। सफल हुनका लागि तपाईंसँग प्रतिबद्धता र भोक चाहिन्छ।
युवावस्थामै थाल्नुस्
तपाईंले व्यापारमा सफलता हासिल गर्न समय लाग्छ। त्यसैले युवावस्थामै यसमा लाग्नु राम्रो हुन्छ। युवा छँदा तपाईंसँग जोखिम लिने क्षमता ज्यादा हुन्छ। त्यस्तै, तपाईंका जिम्मेवारी कम हुन्छन् र तपाईंले आफ्नो व्यवसाय वृद्धिका लागि आफ्नो ऊर्जा खर्च गर्न पाउनुहुन्छ। उमेर बढ्दै जाँदा जिम्मेवारी बढ्दै जान्छन्। त्यसैले युवावस्थामै जोखिम लिनु राम्रो हुन्छ। बोल्ड निर्णय गर्दा पनि तपाईंले पछुतो मान्नुपर्दैन।
सही लागेको काम
कम्पनी सुरु गर्न निकै गाह्रो हुन्छ। पीडादायी नै हुन्छ। यस्तो पीडा सहनका लागि तयार हुनुपर्छ। त्यसैले जुन क्षेत्रमा तपाईं रमाउनुहुन्छ, त्यही व्यवसायमा हात हाल्नुस्। मन लागेको काम गर्नुस्।
फरक बन्नुस्
उपभोक्ताका लागि धेरै विकल्प हुन्छन्। तपाईंले व्यवसाय सुरु गर्नुअघि नै बजारमा अर्को ब्रान्ड स्थापित भइसकेको हुन सक्छ। त्यसैले तपाईंले आफ्नो फरक उपस्थिति देखाउन जरुरी छ। यसरी नै कम्पनीको ब्रान्डिङ गर्नुपर्छ।
(एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री)