अब त दसैं आउन धेरै दिन छैन। मानिस दसैंको किनमेलमा झुमि सकेका छन्। बजार र पसलमा पुग्दा दसैंको रौनक देख्न सकिन्छ। जतिजति दशैं नजिकिएको छ, त्यतित्यति नै महँगी बढिरहेको देखिन्छ। बजारमा तरकारी, दाल तेल, गेडागुडीलगायतको मूल्य बढिरहेको छ। सरकारले बजार अनुगमन प्रभावकारी बनाउन सकिरहेको छैन। व्यवसायीले पनि दसैंतिहारलाई मुनाफा कमाउने अवसरका रूपमा लिइरहेका छन्। सरकारले उपभोक्ताको सहजताका लागि सुपथ मूल्य सञ्चालन गरेको भए पनि त्यहाँ प्रयाप्त सामान छैनन्।
सरकारका सुपथ मूल्य पस देखावटी जस्तामात्रै छन्। महँगीले आकास छोइस्कयो। सुपथ मूल्य पसलमा चिनी, चिउरा, दाल, तेललगायत वस्तुभाउमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिएको देखिन्छ। सुपथ मूल्य पसललाई सुपथ बनाइएको छैन। हवाइ भाडा त छोइ नसक्नु छ। वर्षेनी दसैंको मौका छोपेर अचाक्ली हवाइ भाडा बढाइन्छ। सरकारले हवाइ सेवा प्रदायक कम्पनीको मनपरी नियन्त्रण गर्न सकिरहेको छैन। चाडबाडमा हुने महँगी र ठगी नियन्त्रणमा सरकारले यथोचित ध्यान दिन जरुरी छ। सरकारले महँगी नियन्त्रण गर्दै गरिव जनतालाई राहत दिन सक्यो भनेमात्रै सबै जनताको घरघरमा दसैंको उल्लास आउने छ। त्यसतर्फ सरकारले ध्यान दिन आवश्यक छ।
दसैं नजिकिएसँगै विदेशमा श्रम बेचिरहेका नेपालीहरूको घर फर्किरहेका छन्। लामो समयपछि परिवारसँग भेट हुने खुसी उनीहरूको अनुहारमा छ। दसैंले मुलुकको अर्थतन्त्र थोरै भए पनि चलाएमान भएको छ। विदेशमै रहेकाहरूले पनि परिवारको खुसीका लागि भन्दै दसैं खर्च पठाइरहेका छन्। यसले मुलुकमा रेमिट्यान्स भित्रिले क्रम बढ्दो छ। यसले पनि मुलुकको अर्थतन्त्र र विदेशी मुद्रा सञ्चितिमा टेवा पुगाउने छ।
‘गरिबको दशैं यसपालि कसरी टर्छ ?’, उनले भने, ‘खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको दुई सय ५०, बजार भाउ सुन्दा गुम्छ होसहवास।’
दसैंमा किनमेल गर्दा र उपहार दिँदा भने आफ्नो क्षमता भुल्नु हुँदैन। देखासिकीमा दसैंलाई खर्चिलो बनाउनु हुँदैन। आफ्नो गक्ष अनुसार चाडपर्व मनाउनु पर्छ। ऋण काडेर चाडपर्वमा रम्दा त्यसको भार पछि आफैँलाई पर्छ। महँगो लगाउँदैमा वा महँगो उपहार दिँदैमामात्र प्रतिष्ठित भइने होइन। उपहार मायाको चिनो हो। त्यो आफैँमा मूल्यवान हुन्छ। त्यसँग भावनात्मक सम्बन्ध हुन्छ।
मुख्यतया नेपालीहरूको वर्षभरीमा हुने खर्चको अधिकांश हिस्सा दसैंले लिने गरेको हुन्छ। अन्य समयमा नेपालीहरूले खासै खर्च गर्ने गर्दैनन्। तर, दसैंमा लत्ताकपडादेखि कुनै राम्रा घरायसी सामानसमेत खरिद गर्छन्। अनेकन मेला महोत्सव पनि यसै समयमा हुने गरेका छन्। दसैं र तिहारमा नेपालीहरू ऋणकर्ज गरेरै भए पनि आफ्नो इच्छा र आवश्यकताका सामान खरिद गर्छन्। फलस्वरुप दशै महँगो हुने गरेको छ। अझ हिजो आज त दसैँ अत्यन्त देखासिखी र विलासी हुँदै गएको छ।
‘आयो दसैं ढोल पिटाई, गयो दसैं ऋण बोकाइ’ भन्ने पुरानो नेपाली उखान कसैको जीवनमा पनि चरितार्थ नहोस्। खरिद गर्न सक्ने र धान्न सक्नेले त दसैं राम्रैगरी मनाउलान्। तर, न्यून आयस्तर भएका जनताले भने आफ्नो गक्ष अनुसार दसैं मनाउनु पर्छ।
आज त संसदमा पनि प्रश्न उठेको छ, ‘गरिवको दसैं कसरी टर्छ।’ प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महँगी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसदहरूले बजारमा खाद्य तथा गैरखाद्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
सांसद रघुजी पन्तले बजारमा व्याप्त महँगी नियन्त्रणका लागि माग गरे। ‘गरिबको दशैं यसपालि कसरी टर्छ ?’, उनले भने, ‘खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको दुई सय ५०, बजार भाउ सुन्दा गुम्छ होसहवास।’
सांसद भगवती चौधरीले चाडपर्वमा कालोबजारी र महँगीको अनुगमन र मूल्याङक्न तदारुकता गर्न ध्यानाकर्षण गराए। उनले मिटरब्याज पीडितका लागि न्याय सम्पादनमा समेत सरकारको ध्यानाकर्षण गराए।
सांसद माधव सापकोटाले सांस्कृतिक पर्वहरू नजिकिँदै गर्दा बजार अनुगमनलाई चुस्त बनाउन माग गरे। उनले बाढीपहिरोले बिग्रेको सडकको विस्तार मर्मतसम्भार गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराए। उनले सरकारले निर्माण व्यवसायीलाई बाँकी रहेको भुक्तानी तत्काल गर्न बताए
सांसद रामहरि खतिवडाले चाडपर्वका समयमा सुरक्षित यात्राका लागि सडक मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराए। उनले धार्मिक र सामुदायिक सद्भावलाई कायम गर्न अनुरोध गर्दै पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणको अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउन माग गरे।
सांसद मेनका पोखरेलले महँगी नियन्त्रणका लागि आग्रह गर्दै विभिन्न बहानामा विश्वविद्यालय बन्द गर्न नहुने बताए। सांसदहरू मैना कार्की, लेखनाथ दाहाल र रञ्जुकुमारी झाले बजार अनुगमनसँगै सुरक्षित, सहज र सस्तो यात्राको व्यवस्था गर्नसमेत माग गरे।