दोरी नेपाली जनजीवनको मार्मिक तस्बिर - Chaitanya News
  • 2026-04-25
  • 10:22:35
  • शनिबार,बैशाख १२, २०८३
  • दोरी नेपाली जनजीवनको मार्मिक तस्बिर

    दोरी नेपाली जनजीवनको मार्मिक तस्बिर

    दोरी उपन्यासमा हाम्रो सामाजिक, पारिवारिक, सांस्कृतिक र आर्थिक जनजीवनको मार्मिक जीवन्त तस्बिर सुस्पष्ट राख्न उपन्यासकार जनक रसिक सफल भएका छन्। नेपाली आख्यान जगतमा विज्ञानको सन्दर्भलाई आख्यानको विषयवस्तु बनाएर लेखिएका थोरै आख्यान मध्ये दोरी पनि हो। कुनै पनि साहित्यिक सृजनाले तब मात्र पाठकलाई आकर्षण गर्न सक्छ जब त्यसले फरक मिठो स्वाद दिन सक्छ। हो मिठो नौलो स्वाद पस्केर जनक रसिकले आफ्नो पनि हस्तक्षेपकारी पहिचान बनाएका छन् नेपाली आख्यान जगतमा।

    देव नामको मुख्य पात्र कसरी प्रसन्नदेव बन्नुपर्‍यो। हाम्रो सामाजिक जनजीवन आजको वैज्ञानिक चमत्कारिक युगमा कुन गतिमा अघि बढ्दैछ। यो आर्थिक युगमा उद्यमशीलताको अवस्था कुन हालतमा रहेको छ। बेरोजगारीले जनजीवनलाई पारेको किंकर्तव्यविमूढ को अवस्था र युवाहरूले देशमा नै पौरख गरी खान नसक्ने अनेक पाटाहरू देखाई दिएको छ।

    भारतीय सहरमा छिमेकीहरू रोजगारीका लागि गएको र तिनै लाहुरे हरूकै बाटो हिँड्न लालायित भएको देव पनि भारतीय सहरहरूमा पुगेर रोजगारीको नाममा मालिकहरूको हेपाई र शोषण बाहेक अरू नपाएर फेरी घर नै फर्किएको र जापानतिर म्यानपावर कम्पनी चलाएको जस्तै लाग्ने नेपाली पात्र मयशर काका देवता जस्ता भएर देवका लागि साक्षात् अवतार नै लागेका छन्। लाखौं लगानी गरेर काम खोज्न जानुपर्ने विश्वकै धनी र विज्ञानको विकासको चरमचुलीमा पुगेको देशमा सहजै जान पाउनु र काम पाउनु देव जस्ता विपन्न ग्रामीण युवाका लागि कम्ती चमत्कार हो र ! चमत्कारपूर्ण तरिकाले देव जापान पुग्छ। दयालु र उदारमना मयसर काकाको असीम अनुकम्पाले घर परिवारको अवस्था सुध्रिन थाल्छ।
    देवमा पनि ग्रामीण जीवनको निरीह, टिठाउँदो लाग्ने अवस्थामा पनि आकर्षण बढेको पाउँछ देवले।
    देवले काम गर्न थाले पछि देवको मालिक कोईतोले घरमा काम गर्ने दोरी नामकी केटीलाई ल्याउँछ। उसको सुन्दरताबाट मोहित देवले उसलाई प्रेम गर्न थाल्छ। दोरीको मुस्कान र आँखाको जादुले पनि देवलाई उसले माया गर्न थालेको आभास हुन्छ। देवको दोरी प्रतिको प्रेम र आशक्तिपूर्ण व्यवहारलाई थाहा पाएपछि मालिकले हेपेको र कुटपिट गरेको घटनाले शारीरिक यातना त दियो नै।

    मानसिक यातना र तनाव समेत दियो। मयसर काकाको उत्साहप्रद व्यवहारले कोईतोको घरमा देव पुरानै लयमा फर्किन्छ। दोरीलाई कोईतोले किनेर ल्याएको सम्म थाहा पाएर जापान जस्तो देशमा पशु झैँ मानिसको खरिद विक्री हुने देख्दा दोरीको जीवन प्रति दुखी हुन्छ। त्यो दासताले क्रोधित बनाए पनि आफ्नो विवशता उसले बुझेको छ बिरानो देशमा।

    दोरीलाई देवले एकदिन कोईतोले कोठामा यातना समेत दिई बलात्कार गरेको देख्दा दोरीको निरीह दास जीवन र यौन दासीको अपमानित पीडादायी जीवन देखि दोरी प्रति दया, सहानुभूति जाग्छ र कोईतोप्रति क्रोधित हुन्छ। त्यो बिरानो देशमा आफूले प्रेम गरेको नारीको अस्मिता लुटिएको आफ्नै आँखाले देख्नुपर्दा आफ्नो निरीहता प्रति नै घृणा गर्छ उसले। यति अगाध माया गरेकी दोरी यन्त्र मानव हो भन्ने थाहा पाउन उसलाई धेरै समय लाग्नु र मान्छे ठानेर प्रेमिल हुँदासम्म कथा रहस्यको अविरल प्रवाहमा पौडी रहन्छ। उपन्यासको अन्त्यतिर नपुग्दा सम्म वा पढिसकेको पाठकले नभने सम्म यो रहस्यको नजिक पुग्न सकिँदैन्। यस्ता पाटाहरूले उपन्यासको कथा सिर्जना क्षमता अदभूत छ भन्ने देखाउँछ।

    कथाको शीर्षक डोली अंग्रेजी शब्दको जापानी उच्चारण दोरी रहेछ। जापानी लिपिमा ल, ड भन्ने अक्षर नै नहुने भएकोले जापानीहरूले ल अक्षरलाई र उच्चारण गर्छन् भने ड लाई द। यसरी यन्त्र मानव डोलीको उच्चारण दोरी हुन गएको भन्ने पनि कहीँ कतै आख्यान मा आइदिएको भए पाठकलाई दोरी शब्दको बारे सुस्पष्ट भइदिन्थ्यो।

    अनि देवलाई जापानमा घरायसी काममा पनि रोबोट यन्त्र मानवको प्रयोग हुन्छ भनेर सहजीकरण भएको हुनुपर्थ्यो। त्यस्तै कोईतोको घरमा काम गर्न ल्याइएकी दोरीलाई उसले केटी नै ठानेर माया गरेको थियो। बिहे नै गर्ने सपना देख्न थालेको थियो। सायद पहिले नै डोली यन्त्र मानव हो भन्ने ठानेको भए यन्त्र मानव प्रति देव किन भ्रममै रहन्थ्यो होला र ? उपन्यासमा यसरी विज्ञान र बदलिँदो परिवेश बारे थाहा नपाएर मानसिक असन्तुलनको अवस्थामा पुगेर लामो उपचार पछि सामान्य अवस्थामा फर्किन निकै गाह्रो भएको अवस्था प्रति समयमै सचेत हुन रोजगारदाताहरूको पहिलो काम भएको महत्त्वपूर्ण पाटो अव्यक्त रूपमा व्यक्त भएकोछ।

    आफू रेडियसनको प्रकोपमा परेर शारीरिक अपूर्णताको सिकार भएको देव भावी आइपर्ने जीवनका जेसुकै भए पनि चुनौतीको सामना गर्न सक्ने अवस्थामा पुग्न मनोपरामर्शले कति धेरै काम गरेको छ। मानसिक रूपमा सन्चो हुने अवस्थासम्म पुग्न उसलाई जीवन जगतको ज्ञान कसरी प्राप्त भयो त्यो सबै थाहा पाउन दोरी उपन्यास त पढ्नैपर्छ। आणविक भट्टी, त्यसबाट उत्पादन हुने आणविक ऊर्जाको महत्त्व र त्यसको दुरुपयोग भयो भने त्यसले मानवजीवनलाई पुर्‍याउने क्षतिको ज्ञानवर्धक प्रस्तुतिले विज्ञान प्रति रुचि हुनै पर्ने अत्यावश्यकतालाई पुस्ट्याउँदछ।

    साहित्यमा विज्ञानको सन्दर्भमा कथावस्तु आएको र शिक्षाको आवश्यकता हरेक व्यक्तिलाई कति जरुरी छ भन्ने कुरा देवबाट प्रसन्नदेव हुनपुगेको पात्रले शैक्षिक सचेतना पनि फैलाउने काम गरेको छ।