स्थानीय सरकारले अधिकारको राम्रो कार्यान्वयन गर्दा थुप्रै काम गर्न सकिन्छ - Chaitanya News
  • 2026-11-12
  • 09:23:36
  • बिहिबार,कार्तिक २७, २०८३
  • स्थानीय सरकारले अधिकारको राम्रो कार्यान्वयन गर्दा थुप्रै काम गर्न सकिन्छ

    स्थानीय सरकारले अधिकारको राम्रो कार्यान्वयन गर्दा थुप्रै काम गर्न सकिन्छ

    चौतारा साँगाचोकगढी नगरपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा पर्दछ। यो नगरपालिका जिल्लाको सदरमुकाम पनि हो। नगरपालिका १६५.२५ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ। सुकुटेवेसी, चौतारा साँगाचोकगढी जस्ता यहाँ थुप्रै पर्यटकीय स्थलहरू रहेका छन्। यहाँका जनप्रतिनिधिले इमानदार भएर काम गर्ने हो भने धार्मिक र अन्य पर्यटकहरूलाई भित्र्याउन सक्ने थुप्रै आधारहरू छन्। यहाँका जनप्रतिनिधिहरूले कसरी काम गरिरहेका छन्? त्यहाँका सम्भावना र समस्या के छन्? यही विषयमा केन्द्रित रहेर पालिका उपप्रमुख सीता थापासँग चैतन्य खबरका लागि निर्मला कडायतले गरेको संवाद :

    तपाईंहरूले कसरी काम गरिरहनु भएको छ, तपाईंहरूका विकास निर्माणका प्राथमिकताका योजना के-के छन्?

    हामी निर्वाचित भएर आएको पनि करिब डेढ वर्ष समय बिती सकेको छ। यो समयमा काम गर्दा नीति तथा कार्यक्रममा तय गरेका कार्यक्रमलाई कार्यान्वयन गर्ने, त्यसको अनुगमन गर्ने, थप आवश्यकताको कार्यान्वयन गर्ने काम गरेर हामीले आफ्नो काम अगाडि बढाएका छौं। हामीले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई नै मुख्य आधार बनाएर काम गरिरहेका छौं। कृषिमा उत्पादकत्व वृद्धि गर्दै जनस्तरमा तल्लो तहमा रहेर काम गर्ने कृषक वर्गको आर्थिक उपार्जनको पाटोलाई हामीले महत्वका साथ कार्यक्रममा राखेका छौं। शिक्षा र स्वास्थ्य जनताको नैसर्गिक अधिकार पनि हो। यसलाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि विद्यालयको सूक्ष्म अध्ययन गरेर आवश्यकताको पहिचान गर्ने तथा सोही मुताबिक नै कार्य गर्ने कुरामा हामी अगाडि बढेका छौं। स्वास्थ्य क्षेत्रमा पनि गाउँघर क्लिनिक सँगसँगै ज्येष्ठ नागरिक स्वास्थ्य शिविर, आँखा शिविर, महिलाको प्रजनन स्वास्थ्यसँग शिविरहरू सञ्चालन गरिरहेका छौं। राज्यद्वारा उपलब्ध गराउने नि:शुल्क औषधिलाई स्वास्थ्य संस्थाको मागमा आधारित रहेर औषधि वितरण गरिरहेका छौं। यो नियमित कार्यक्रम पनि हो।

    कोरोना महामारीपछि स्वास्थ्य क्षेत्रमा ठूलो चिन्ता व्यक्त भयो, स्वास्थ्य क्षेत्रमा यहाँहरूले कसरी कसरी बजेट विनियोजन गर्नु भएको छ?

    हाम्रो नगरपालिकाको बजेटको रेसियोमा रहेर हामीले करिब साढे तीन करोडभन्दा बढी रकम स्वास्थ्य क्षेत्रमा विनियोजन गरेका छौं। विशेष गरी तल्लो वर्गका निम्न आयस्तर भएका व्यक्तिहरूका लागि हामीले स्वास्थ्य बिमाका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेका छौं। अपाङ्ग, दलित, गम्भीर खालका बिरामी, जनयुद्ध र जन आन्दोलनका सहिद भएका परिवारको नि:शुल्क स्वास्थ्य बिमा उपलब्ध गराएका छौं। त्यो निकै धेरै प्रभावकारी देखिएको छ।

    पर्यटन र आर्थिक उपार्जनका क्षेत्रमा कसरी काम गरिरहनु भएको छ?

    चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक जिल्लाको सदरमुकामको नगरपालिका पनि हो। हामीसँग आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सक्ने पर्याप्त आधार छन्। ऐतिहासिक गौरी मन्दिर, हर्लङबर्लङ मन्दिर, साँगाचोक गढी रहेका छन्। सुकुटे पर्यटकीय हवका रूपमा स्थापित भइसकेको छ। सुकुटेलाई वाटर फन पार्कको रूपमा पनि विकास गर्ने अवधारणालाई अगाडि सारेका छौं। र्‍याफ्टिङ वा मनोरञ्जन लिन सुकुटेमा आउने पर्यटकहरूलाई अलिमाथि कालिटार, जलकिने हुँदै साँगाचोकगढी, गुम्बा, रानी पोखरीलगायत पर्यटकीय ठाउँमा पुग्नका लागि अभिप्रेरित गर्ने हिसावले अनुरोध गरिरहेका छौं। ती ठाउँको स्तरोन्नति गर्ने, त्यहाँको पर्यटकीय पर्यावरणको अवस्थालाई पनि सुधार गर्ने काममा हामी क्रियाशील छौं। प्रदेश सरकार र संघीय सरकारलाई पनि यी ठाउँको महत्त्वलाई आत्मसाथ गर्दै वृद्धि विकास गर्नका लागि अनुरोध गर्ने, बजेट विनियोजन गर्नका लागि निरन्तरता दिनका लागि अनुरोध गर्ने काम पनि गरेका छौं। त्यसमा सरकारले सहयोग पनि गरिरहेको छ।

    कतिपय निर्णय गर्दा संघको मुख ताक्नुपर्ने अवस्था अझैँ छ भनिन्छ, के त्यस्तो छ?

    स्थानीय सरकार आफैँमा अधिकार सम्पन्न भए पनि आर्थिक उपार्जनको हिसावले, बजेट भोलुमको हिसावले धेरै कुरामा आफैँमा सम्पन्न छैन। असीमित आवश्यकतालाई सीमित स्रोत साधनले व्यवस्थापन गर्नु पर्ने चुनौती हामीसँग छ। सबै विषय हामी आफैँले गर्छौ वा गर्न सक्छौं भन्ने होइन। त्यो एउटा खालको भ्रम हो। त्यसैले हामी भन्दा उपल्लो तहमा रहेका प्रदेश र संघीय सरकारलाई पनि अनुरोध गर्ने र उहाँहरूसँग पनि भर गर्ने कुरा हुँदो रहेछ।

    प्रदेश र संघले कुन-कुन विषयमा तपाईंहरूलाई अझैँ बढी अधिकार सम्पन्न बनाउँदा काम गर्न सहज हुन्छ लाग्छ?

    यसमा मेरो अलि फरक धारणा छ। हामीलाई अधिकारमात्रै दिएर हुँदैन। स्रोत साधनसहितको अधिकार दिनुपर्‍यो। शिक्षा, स्वास्थ्यको अधिकार स्थानीय तहलाई छ। शिक्षकले आन्दोलन गर्नु भयो। अधिकारसँगै स्रोत साधन दिँदा त्यो प्रभावकारी हुन्छ। नत्र अधिकारका नाममा अधिकारमात्र थुपारेर हुँदैन। स्थानीय सरकारसँग भएको अधिकार राम्रोसँग कार्यान्वयन गर्दा आफैँमा पर्याप्त छ। कतिपय बाझिने संविधान संशोधन गरेर त्यसमा एकरूपता ल्याउने कुरा छ। स्थानीय सरकारलाई प्रदेश र संघले यो अधिकार दिए हुन्थ्यो भन्ने मलाई लाग्दैन।

    थुप्रै पालिकाले कर्मचारी अभावको समस्या भोगी राखेका छन्, तपाईंको पालिकामा के छ?

    यो सबै स्थानीय सरकारले भोगी रहनु भएको गम्भीर समस्या हो। संघीय सरकार र प्रदेश सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने कुरामा धेरै ठाउँमा ढिला सुस्ती गर्ने, त्यसको महत्त्व र समस्यालाई मनन नगर्ने, अनि स्थानीय सरकारलाई राम्रो नतिजामात्र देखाऊ भन्ने कुरा बढी हुन्छ। जनताबाट पनि नजिकको सरकार भएका कारण सोही खाले अपेक्षा र प्रेसर हुन्छ। यो समस्या हुँदा काम सञ्चालनका लागि करारमा कर्मचारी राख्नुपर्ने, करारमा कर्मचारी राख्दा अर्को कर्मचारी आउँदा त्यो कर्मचारीले स्थानीय सरकारको विरोध गर्ने हुन्छ। स्थायी रूपमा सरकारले पठाएका कर्मचारीबाट आउने कामको नतिजा र करारका कर्मचारीबाट आउने कामको नतिजामा पनि फरक पर्दो रहेछ। उहाँहरूमा जागिर पनि अस्थायी काम पनि अस्थायी भन्ने खालको भावना हुँदो रहेछ। स्थानीय सरकारमा बढी करारका कर्मचारी हुँदा स्थायी कर्मचारी र करारका कर्मचारीमा एउटा खालको द्वन्द्व पनि हुँदो रहेछ। उनीहरूको बीचमा तादाम्यता नमिल्दा ठूलो समस्या छ।

    संघीय सरकार र प्रदेश सरकार गम्भीर भइदेओस् भन्न चाहनु हुन्छ?

    अहिले स्थानीय तहमा गए पनि कर्मचारीको एक तह बढुवा हुने भन्ने छ। स्थानीय सरकारमा गए भविष्य सुनिश्चित हुँदैन भन्ने कर्मचारीमा परेको छ। सेवा, सुविधालगायतका विषय अन्योलमा पर्ने र आफ्नो भविष्य अन्योलमा पर्ने मनोविज्ञान छ। त्यसैले उनीहरूले केन्द्र नै रोज्नु हुन्छ।