काठमाडौं- १३औं संस्करणको पुरुष एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजबाट सुरू हुँदै छ।
विश्वकपको पहिलो खेलमा आज इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्ने छन्। यी दुई टोली सन् २०१९ को विश्वकपको फाइनलमा उपाधिका लागि पनि भिडेका थिए।
त्यति वेला निर्धारित ५० ओभरमा खेल बराबरी भएपछि सुपर ओभरमार्फत नतीजा निकाल्न खोजिएको थियो। तर, सुपर ओभर समेत बराबरी भएपछि बाउन्ड्री (चौका/छक्का) प्रहार गरेको आधारमा इंग्ल्यान्डलाई विजेता घोषणा गरिएको थियो।
आजको खेलमा न्युजिल्यान्ड आफ्ना अति महत्त्वपूर्ण दुई सदस्य विनै मैदानमा उत्रनेछ। नियमित कप्तान केन विलियमसनले आजको खेल गुमाउने छन्। घुँडामा चोट लागेका कारण लामो समय टीम बाहिर रहेका विलियमसनलाई विश्वकपकै लागि भनेर १५ सदस्यीय टोलीमा समेटिएको थियो। उनले पाकिस्तान विरुद्धको अभ्यास खेलमा ब्याटिङ गरेको भए पनि उनी पूर्णतः निको भएका छैनन्।
यस्तै, न्युजिल्यान्डका प्रमुख तीव्र गतिका बलर टिम साउदी पनि आज टीम बाहिर हुनेछन्। केही साताअघि इंग्ल्यान्ड विरुद्धको खेलमा बूढी औंलामा चोट लागेका कारण उनले आजको खेल गुमाउने भएका हुन्।
इंग्ल्यान्डले पनि चोटका कारण आफ्नो मुख्य खेलाडी गुमाउन सक्ने अवस्था छ। ‘हिप’मा समस्या भएकाले अलराउन्डर बेन स्टोक्सले आजको खेल खेल्ने वा नखेल्ने टुंगो छैन।
आजको खेल नेपाली समय अनुसार दिउँसो २:१५ बाट शुरू हुनेछ। खेल अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ।