'लोकसेवा’ म जस्तो सर्वसाधारणको छोराका लागि कोशेढुंगा नै हो - Chaitanya News
  • 2026-09-15
  • 17:48:32
  • मंगलबार,भाद्र ३०, २०८३
  • ‘लोकसेवा’ म जस्तो सर्वसाधारणको छोराका लागि कोशेढुंगा नै हो

    ‘लोकसेवा’ म जस्तो सर्वसाधारणको छोराका लागि कोशेढुंगा नै हो

    चैतन्य खबरले विभिन्न पालिकाका प्रशासकीय अधिकृतसँग अन्तर्वार्ताको सेसन सुरु गरेको छ। पालिकाभित्र भइरहेको कामलाई जनतासमक्ष पुर्‍याउने र केही पालिकाहरूमा भौगलिक विकटताका र सिमित स्रोत साधनका बीच काम गर्न असहज भइरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन् र त्यहाँका जनताको अपेक्षा के छ? भन्ने विषयमा चैतन्य खबरको लागि निर्मला कडायतले नाम्खा गाउँपालिका, यालबाङ हुम्ला, कर्णाली प्रदेशका प्रमुख प्रशासकीय अधिकृत शैलेश किरण राई चाम्लिङसँग गरेको संवादको सम्पादित अंश :

    किरण राई चाम्लिङ

    तपाईँले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको कतिभयो?

    मैले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको करिब एक महिना हुँदैछ। नेपालकै सबैभन्दा ठूलो क्षेत्रफल भएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पाएकोमा खुसी छु। यहाँ मैले सुनेको भन्दा फरक पाएँ। थुप्रै अवसर र सम्भावना यस क्षेत्रमा छन्। त्यसैले म धेरै आशावादी छु।

    जनप्रतिनिधिको कस्तो सहयोग पाइरहनु भएको छ ?

    यहाँका जनप्रतिनिधिहरू एकदम सिर्जनशील, प्रगतिशील र सहयोगी पाएको छु। आजसम्म आत्मियताको र अपनत्वताको सहयोग पाइरहेको छु। भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु। जनप्रतिनिधि र कर्मचारी मिलेरमात्र जनताको पक्षमा काम गर्न सकिन्छ। त्यसैले हाम्रो साथ जनप्रतिनिधिलाई रहने छ। उहाँहरूको साथ पनि हामीले पाइनै रहने छौं भन्नेमा म विश्वस्त छु।

    जनअपेक्षा कस्तो पाउनु भएको छ र यहाँहरूले सेवा भावलाई अग्रभागमा राखेर कसरी काम गरिरहनु भएको छ?

    यो गाउँपालिका लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको थियो । अहिले म यहाँको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउँदा अवश्य नै जनताको अपेक्षा मसँग धेरै रहेको पाएको छु। यो मेरो लागि अवसर र चुनौती दुवै हो। मैले सार्वजनिक सेवा प्रवाहको केन्द्रविन्दुमा यहाँको जनतालाई राखेको छु। मेरो लक्ष्य भनेको यहाँका भगवान जस्ता जनतालाई धेरै भन्दा धेरै सेवा तथा सुविधा दिनु रहनेछ। यहाँ स्रोत र साधनको अभाव छ। तर, पनि सिमित मात्रामा भएको स्रोत र साधनको अत्युत्तम सदुपयोग गरेर सन्तुष्टी चाहिँ दिन्छु।

    यहाँले पालिकामा प्रशासनिक टिमको कार्यशैलीको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ?

    यहाँका प्रशासनिक टिम एकदमै इमान्दार, जुझारु रहेको पाएको छु। यो पालिकाका जनतालाई सेवा दिने भनेर हामी यहाँ आएका छौं। मेरा कर्मचारी साथीहरूले जनताका सेवाका लागि कमिकमजोरी गरेको छैन भन्ने लाग्छ। कतै हाम्रोतर्फबाट कमिकमजोरी भएको छ भने त्यसलाई सच्याउन लगाउने मेरो भूमिका हुनेछ। म यहाँको प्रशासकीय प्रमुख भएकोले मैले साथीहरूलाई अझै ‘स्मार्ट कर्मचारी’ बनाएर ‘स्मार्ट सेवा’ दिनुपर्छ। यहाँको प्रशासकीय टिमलाई उच्च मनोवलसहितको असल नेतृत्व र सकरात्मक उत्प्रेरणाद्वारा परिणाममूखि व्यवस्थापन गरिरहेको छु।

    कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ?

    नेपालको एकमात्र राष्ट्रिय सडक सन्जालसँग नजोडिएको जिल्ला हुम्ला हो। त्यसैले बिकटताको कुरा नगरौं। तर, बिकटताको बीच सुन्दरताको वर्णन गर्न म यहाँ सक्दिनँ। यस्तो परिवेश अनुसार कर्मचारीको पर्याप्तता र सहजता पक्कै नै छैन। यसका बाबजुत पनि म समुचित व्यवस्थापनद्वारा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी र नतिजामुखी बनाउने प्रयास गरिरहेको छु।

    अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनु भएका विद्यार्थीहरूलाई के भन्न चाहनु हुन्छ? कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ लाग्छ यहाँलाई?

    निजामती सेवा अहिलेको परिप्रेक्षमा म जस्तो सर्वसाधारणको छोराको लागि कोशेढुंगा नै हो। तर, पनि सोचे जस्तो सबैले सफलता हात पार्न सकेका छैनन्। जसले हतोत्साहित बनाउन सक्छ। तर, हतोत्साहित हुनुहुन्न। हार मान्नु हुँदैन। आत्मविश्वासका साथ पढ्नुपर्छ। निरन्तर असफलतापछि एकपटक अवश्य सफलता हात पार्न सकिन्छ। यस मामिलामा म केही भाग्यमानी सावित भएको थान्छु। किनकि मैले कुनै तयारी कक्षा नलिकन पहिलो प्रयासमा नै दुई महिनाको अवधिमा तीन ठाउँमा सिफारिस हुन सफल भएँ। तपाईंहरु जो यसमा तयारी गरिरहनुभएको छ । यो निजामती सेवामा सधैं स्वागत छ। तयारी गर्दा गहिरो समालोचनात्मक स्वाध्यायन गर्नुपर्छ सफलता निश्चित छ।