काठमाडौं- बैतडीको दशरथचन्द नगरपालिकाको भौतिक पूर्वाधार फाटमा करारमा कार्यरत एक कर्मचारीलाई सेवाबाट हटाइएको छ। करारमा थुप्रै कर्मचारी रहे पनि नगरपालिकाले एक जना कर्मचारीलाई मात्र सेवाबाट हटाएको हो।
त्यसरी सेवाबाट हटाइएका कर्मचारी जयसिंह बोहरा रहेका छन्। २०६६ सालदेखि आफूले करारमा सेवा प्रदान गर्दै आएकोमा अहिले आएर जागिरबाट हटाइ बिचल्ली पारिएको उनले बताए।

‘म २०६६ सालदेखि करार पदमा रहेर सेवा रत छु। बीचमा दुई वर्ष अन्यत्र गए। फेरि २०७३ असार १७ गतेदेखि करारमा रहेर सेवा गर्न थाले। एक दशक भन्दा बढी समय मैले उक्त संस्थामा बिताएको छु। अब अहिले मैले कहाँ जाने। घर-परिवार कसरी पाल्ने। करारमा अन्य कर्मचारी हुँदा पनि मलाईमात्र किन निकालियो,’ उनले भने।
आफूलाई पूर्वसूचना बिनै जागिरबाट निकालिएको उनले गुनासो गरेका छन्। घरायसी समस्याका कारण आफू भदौ ४ गतेदेखि ३० गतेसम्म स्वीकृत गराएर बिदामा बसेको र फर्केर आउँदा आफूलाई हाजिर हुन नदिएको उनले गुनासो गरे। उनले आफूले गरेको हाजिरी समेत काटिदिएको आरोप लगाएका छन्।

‘असोज ४ गते कार्यालयमा उपस्थित भइ हाजिर गरेको थिए। तर, जानकारी बिनै र बिना कारण मेरो हाजिरीमा ओपर ल्याप हुनेगरि रातो कलमले काटिएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ अनुसार कार्यालयको दैनिक आर्थिक तथा प्रशासनिक कार्य गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतमा निहित हुने कुरा स्मरण गराउँदै हाजिर के कारणले काटिएको हो। जानकारी गराउन अनुरोध गर्द छु,’ उनले भनेका छन्।
उनी पूर्वाधार शाखा प्रमुखको रूपमा कार्यरत थिए।