काठमाडौं- डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ पहिलो सातामै पाँच हजार कपी बिक्री भएको छ। पुस्तक बजारमा आएको एक साताको अवधिमा पाँच हजारभन्दा बढी कपी बिक्री भएको प्रकाशन गृहले जनाएको छ।
‘जीवन्त सम्बन्ध’ पुस्तक असोज ५ गतेदेखि बजारमा आएको हो। सामाजिक सञ्जालमा चर्चा र पाठकबाटै सिफारिस हुन थालेपछि बजारमा डा. ओममूर्तिको ‘जीवन्त सम्बन्ध’ किताबको माग बढेको पुस्तकको वितरक समीक्षा पब्लिकेसनका मोहन आचार्यले बताए।
पाठकहरूमा पुस्तकप्रतिको उत्सुकता र व्यग्रता फरक किसिमको देखिएको उनको भनाइ छ। यसले सुस्ताएको नेपाली पुस्तकको बजारलाई ‘जीवन्त सम्बन्ध’ले गर्माउने संकेत देखिएको उनी बताउँछन्।
व्यक्ति, परिवार, समाज र राष्ट्रलाई समेट्दै सम्बन्धको महत्व तथा व्यक्तिको दायित्वलाई डा. ओममूर्तिले आफ्नै सुख, दुःख र भोगाइका माध्यमबाट किताबमा पस्केका छन्।
डा ओममूर्तिको ‘जीवन्त सम्बन्ध’ पुस्तक समीक्षा पब्लिकेसन र अन्य वितरकहरूले देशभरका पुस्तक पसलहरूमा वितरण गर्दै आएका छन्। साथै भाटभटेनीका देशभरका स्टोर, दराज, ई-सेवा र फाउन्डेसनको वेबसाइटमा पनि पुस्तक उपलब्ध छ।