धुलिखेल- सामाजिक विश्लेषक डा. युवराज सङ्गौलाले समाज सुरक्षित हुँदा समृद्धि हाँसिल गर्न सकिने धारणा राखेका छन्। चैतन्य एकेडेमीले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनार अन्तर्गत समाज र समृद्धि विषयमा धारणा राख्दै समृद्धिका लागि सुरक्षित समाज हुनुपर्ने बताएका छन्।
सुरक्षाको लागि बन्दुक दिँदा निदायको समयमा त्यसले सुरक्षा नदिने बताउँदै उनले समाज नै सुरक्षित भयो भने बन्दुकको आवश्यकता नपर्ने बताए। यसका साथै समाजवाद एसियाको उत्पादन भएको धारणा राखेका छन्।
‘समाजको शान्ति नै समाजवादमा निर्भर हुन्छ। अर्को कुरा समाजवाद मुलुकको मौलिकतामा पनि निर्भर हुन्छ। हामीले हाम्रो समाज अनुरुपको समाजवादको आधारसिला तयार गर्नुपर्छ,’ उनले भने।
समाजवादमा व्यक्तिको स्वतन्त्रतामा हस्तक्षेप गर्न पनि नमिल्ने र राज्यको नियम भन्दा बाहिर जान पनि नमिल्ने भएकाले यस विषयमा सचेत हुनुपर्ने पनि उनले धारणा राखे। समाजवाद र समृद्धि एक अर्काका परिपूरक भएको उनी बताउँछन्।
उत्पादन र उपभोगबीचको सन्तुलनमा पनि समाजवाद निर्भर हुने उनले बताए। सबै मानिसको आर्थिक अवस्था बलियो नहुँदा त्यहाँ अपराध हुने र त्यसले समाजवादलाई कमजोर पार्ने उनले बताए।