नेतृत्वको इसारा बुझ्न र कुहिनो ठोकाठोक नगर्न ओलीको निर्देशन - Chaitanya News
  • 2026-11-19
  • 08:31:58
  • बिहिबार,मंसिर ०४, २०८३
  • नेतृत्वको इसारा बुझ्न र कुहिनो ठोकाठोक नगर्न ओलीको निर्देशन

    नेतृत्वको इसारा बुझ्न र कुहिनो ठोकाठोक नगर्न ओलीको निर्देशन

    विराटनगर– नेकपा (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन विराटनगरमा सुरु भएको छ। अधिवेशनमा छानिने नेतृत्वको विषयमा भने ठुलै रस्साकस्सी सुरु भएको छ। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको चाहना भने प्रदेश अध्यक्षमा घनश्याम खतिवडालाई सार्ने पक्कापक्की भएको छ।

    अधिवेशन उद्घाटन समारोहमा पनि अध्यक्ष केपी शर्मा ओलीले ढकाल पक्षलाई लक्षित गर्दै केही अभिव्यक्ति दिए। ओलीले आफ्नो इसारा बुझ्न चेतावनी पनि दिए। त्यस्तै नेतृत्वले देखेको कमजोरी सच्याउन र असहिष्णु नहुन पनि उनले आग्रह गरे।

    अधिवेशनमा नेतृत्व चयनको विषयमा सकेसम्म सहमति गर्न र नभए निर्वाचनबाट गरे पनि कुहिनो ठोकाठोक नगर्न निर्देशन दिएका ओलीले विपक्षीलाई देखाएर चुनावी प्रतिस्पर्धालाई रोक्ने खालको अभिव्यक्ति दिए। ‘अधिवेशनमा सहमति नभए निर्वाचनमार्फत नेतृत्व चयनमा अगाडि बढ्नुहोस्,’ ओलीले भने, ‘सहमति गरौँ भनेर नेतृत्व चयन हुँदा पनि विरोधीले एमालेलेमा लोकतन्त्र छैन भन्छन्। चुनावमा गएर नेतृत्व चुन्दा पनि केपी ओलीले भनेको कार्यकर्ताले मानेनन् भन्छन्। विरोधीहरूको प्रचार संयन्त्र त्यस्तै हो। जसो गरे पनि हामीविरुद्ध उनीहरुले आक्रमण गर्छन्। त्यस कारण विरोधीका स्याल हुइयाँतिर लाग्ने होइन। एकताबद्ध भएर हाम्रो पार्टी जान्छ।’

    ओलीले अधिवेशनमा सर्वसम्मति भएर पनि जान सक्ने र नभए चुनावमा पनि जान सकिने बताए। ‘बिना बैमनश्यता, बिना कुइना ठोकाठोक, स्वस्थ प्रतिस्पर्धा गर्नुहोस्। त्यसपछि हारजित भइसकेपछि त्यसलाई इगोको विषय नबनाउनु होस्, चित्त दुखाउने काम पनि नगर्नुहोस्,’ उनले चेतावनीको भाषामा भने, ‘अलिकति पार्टीका नेताहरुको नेतृत्वको के मूल्याङ्कन छ इशारा पनि बुझ्नुहोस् । त्यसो गर्न सक्नुभएन भने स्वस्थ प्रतिस्पर्धा गर्नुहोस्।’ उनले एमाले मजबुत बनाउनु पर्ने बाध्यतामा रहेको बताउँदै एकताबद्ध हुनुपर्नेमा जोड दिए।

    ‘हिजो फलानो पदमा आइदेऊ न बसिदेउ भन्दा अर्कालाई दिऊँ भन्थे। आज अलिक अस्वस्थ प्रतिस्पर्धा चल्ने गरेको छ। मेरो चाहिँ के त भन्नुहुन्छ साथीहरू,’ ओलीले असन्तुष्टहरूलाई सम्झाउने प्रयास गरे, ‘तपाईँका लागि सिङ्गै आन्दोलन छ। हामी आन्दोलन उठाऔँ। अलिक वर्ष अगाडिसम्म पार्टी र आन्दोलनको कुरा हुन्थ्यो। अहिले आफ्ना कुरा बढी हुने गरेको छ। नेतृत्वले केही मूल्याङ्कन गरेको हुन्छ। कमीकमजोरी भए सच्याउन आग्रह गरेको हुन्छ। सच्याउन समय दिएको हुन्छ। त्यस विषयमा असहिष्णु हुनु हुँदैन। अहिले एमाले विरोधीहरू लागिरहेका छन्।’

    उनले नेकपा एमाले गुरु पार्टी भएको बताउँदै यसले समाजमा गुरुको काम गर्नुपर्ने बताए। उनले मिसन ८४ भनेको हरेक वडामा ५१ प्रतिशत एमाले बन्नु रहेको प्रस्ट पारे। ‘मिसन ८४ मा एमाले हरेक वडामा ५१ प्रतिशत पुर्‍याउनु पर्छ। हरेक घरमा पार्टीलाई पुर्‍याउनु पर्छ। युवा सङ्गठन, विद्यार्थी सङ्गठन, महिला सङ्गठन, किसान सङ्गठनलाई टोल टोलमा पुर्‍याउनु पर्छ। मिसन ८४ को आधार त्यो हो,’ ओलीले भने, ‘हरेक वडामा ५१ वडामा भएपछि मात्रै हाम्रो विजयलाई हामीले सुनिश्चित गर्न सक्छौँ। हामी त्यो पुर्‍याउन सक्छौँ। किनभने एमालेबाहेक जनताको समस्या बुझेको कुनै पनि पार्टी यो देशमा छैन।