धुलिखेल- चैतन्य एकेडेमीले आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक दुई दिने सेमिनारमा विधिको शासन, संवैधानिक सर्वोच्चता र समृद्धि विषयमा धारणा राख्दै संविधानविद् डा. विपिन अधिकारीले दिगो विकासका लागि कानुनको उचित प्रयोग हुनुपर्ने बताएका छन्।
उनले नेपालमा कानुनको उचित प्रयोग हुन नसकेको तर्फ चिन्ता व्यक्त गर्दै त्यसले जनताले दु:ख पाइरहेको बताए। ‘दिगो विकास निरन्तर प्रक्रिया हो। हामीले प्रक्रियासहित कानुनको उचित प्रयोग गर्न सकेनौं भने दिगो विकास सुस्त हुन्छ,’ उनले भने।
कानुन बनाउँदा हजारौं विकल्प हुने बताउँदै सरकारले जनपक्षीय कानुन निर्माण गर्नुपर्ने उनले धारणा राखे। मानव अधिकार सबै नागरिकका लागि बराबर हुने भएकाले त्यो सबै नागरिकले प्रत्याभुत गर्न पाउनु पर्ने उनले बताए। त्यसका साथै कानुन सबैका लागि बराबर लागू हुनुपर्ने संविधानविद् डा. अधिकारीको भनाइ छ।
कानुनमा एउटा अदालतबाट कहिले गल्ति भयो भने पनि तीन वटै अदालतबाट गल्ती नहुने उनले बताए। अपराध गरेका व्यक्तिहरूलाई आममाफि दिँदा अपराधको प्रकृति हेरेर त्यसमा ध्यान गर्नुपर्ने उनी बताउँछन्। राष्ट्रपति कार्यालय पनि कानुनभन्दा माथि नहुने अधिकारीले बताए। अपराधिलाई आममाफि दिँदा राजनीतिक संरक्षण हुन नहुने उनले बताए।
उचित कानुन कार्यान्वयनका लागि राज्यका अङ्गहरूबीच समन्वय हुनुपर्ने उनले बताए। मुलुकमा कानुनकै अनिश्चितता हुँदा लगानीको वातावरण पनि खल्बलिने उनको भनाइ छ।